परियोजना सञ्चालित स्थानीय तहको अनुगमन सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    परियोजना सञ्चालित स्थानीय तहको अनुगमन सम्पन्न

    खबरपुञ्ज संवाददाता

    १७ असार २०७८, शुक्रबार

    तनहुँ : इन्सेकद्वारा भानु नगरपालिकामा सञ्चालित परियोजनाको प्रभावका विषयमा शुक्रबार अनुगमन गरिएको छ । स्थानीय तहमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अवस्था, स्थानीय नीति तथा कार्यक्रम, सेवा प्रवाहको अवस्थाका तथा स्थानीय स्तरका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालको बारेमा जानकारी लिन सो अनुगमन गरिएको हो ।

    कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले मानवअधिकार र मौलिक अधिकार सबै नागरिकको सरोकारको विषय भएको हुँदा आफूहरुले नीति तथा कार्यक्रम बनाउँदा पनि मानवअधिकार र मौलिक हकलाई सँधै प्राथमिकतामा राखिएको बताउनुभयो । इन्सेकले भानु नगरपालिकामा सञ्चालन गरेको परियोजनाको कारण नागरिकहरु मानवअधिकार र मौलिक अधिकारको बारेमा सचेत बन्न सकेको उहाँले बताउनुभयो ।

    नगरपालिकाकी उपप्रमुख आशा थापा मगरले नगरपालिकाले पहिचान गर्न नसकेका सवाललाई मानवअधिकार समुहले पहिचान गरेर कार्यान्वयनमा सहयोग गरेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीले मानवअधिकार समूहले पेश गरेको मागपत्र तथा र ध्यानाकर्षणपत्रलाई अध्ययन गरेर नीति तथा कार्यक्रममा समावेश गरिएको बताउनुभयो । यद्यपि अहिले नीति तथा कार्यक्रम र बजेट पेश नभएपनि जुन दिन पेश हुन्छ, त्यो बेला यी विषयहरु सम्बोधन हुने उहाँको भनाई थियो ।

    नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले मानवअधिकार समूहले स्थानीय स्तरमा भएका समस्यालाई नगरपालिकामा पटक पटक ध्यानाकर्षण गराएको बताउनुभयो । उहाँले संघीय सरकारको अनुदान बिना अहिले नगरपालिकामा दुई वटा नगरस्तरीय अस्पताल सञ्चालन गरिएको जानकारी दिनुभयो ।

    कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशका निर्देशक चन्द्रकान्त चापागाँईले मानवअधिकार र मौलिक हकको सवाललाई स्थानीय सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो । इन्सेक प्रदेश कार्यालयका संयोजक शिव खकुरेलले सञ्चालित परियोजनाले स्थानीय सेवाग्राहीलाई सेवा प्रदायमा सहयोग गर्ने र स्थानीय स्तरका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषय सम्बोधन गर्न सहयोग पुग्ने बताउनुभयो ।

    सामाजिक विकास मन्त्रालय गन्डकी प्रदेशका शाखा अधिकृत युवराज अर्याल र नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई संविधानले मौलिक हकमा समावेश गरिसके पछि त्यसको कार्यान्वयन गर्नु स्थानीय सरकारको दायित्व भएको बताउनुभयो ।

    मानवअधिकार समूहकी सदस्य सीता अधिकारीले स्थानीय स्तरमा भएका समस्यालाई नगरपालिकामा पटक पटक ध्यानाकर्षण गराइएको बताउनुभयो । सो कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले भानु नगरपालिकामा सञ्चालित परियोजनाको बारेमा जानकारी गराउनुभको थियो ।