व्यासले ल्यायाे बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा छुट दिने याेजना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासले ल्यायाे बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा छुट दिने याेजना

    खबरपुञ्ज संवाददाता

    १८ असार २०७८, शनिबार

    दमाैली : नगरपालिकाले छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा छुट दिने नीति अवलम्बन गरेको छ । ‘लैङ्गिक भेदभावमुक्त व्यास नगर’ बनाउने उद्देश्य सहित छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई सबै करमा २० प्रतिशत छुट दिने नीति नगरपालिकाले पारित गरेको हो ।

    छोरी २० वर्ष नपुग्दासम्म नगरपालिकाबाट लगाइने सम्पत्ति कर लगायतका सबै करमा २० प्रतिशत छुट दिने नीति नगरसभाबाट पारित भएको उपप्रमुख मीरा जोशीले जानकारी दिनुभयो ।

    नगरपालिकाले ‘आत्मनिर्भर छोरी सशक्त व्यास नगर’ अभियानमा छोरीको २० वर्ष पुगेपछि मात्र विवाह गर्नेलाई नगद सहयोग गर्ने प्रबन्ध मिलाउने भएको छ । दलित, बोटे, दरै, कुमाल, चेपाङको छोरीलाई सम्मान गर्दै त्यस्ता छोरीको विवाहमा नगद सहयोग गरिने र २० वर्ष पुगेपछि मात्र विवाह गर्न प्रचारप्रसार एवं अभिमुखीकरण कार्यक्रमलाई तीव्र बनाइने उपप्रमुख जोशीले बताउनुभयो ।

    नगरपालिकाले महिलाहरुको क्षमता विकास एवं सीप विकास गरी आत्मनिर्भर बनाउन ‘उपप्रमुख महिला सीप विकास कार्यक्रम’ सञ्चालन गर्ने नीति लिएको छ । नगरपालिकाभित्र स्थायी बसोबास गर्ने स्नातक तहसम्म योग्यता हासिल गरेका विपन्न बेरोजगार महिलाहरुलाई उद्यमशीलता विकासका लागि अनुदान, स्वास्थ्य सङ्कटमा रहेका विपन्न महिलाहरुलाई आर्थिक सहयोग, ‘महिलासँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत गर्भवतीको पोषणमा सहयोग गर्ने नीति पारित भएको छ ।

    उच्च शिक्षा अध्ययन गर्ने आर्थिक रुपमा विपन्न रहेका छात्राहरुलाई छात्रवृत्ति, दलित, सीमान्तकृत, लोपोन्मुख जाति एवं मुस्लिम समुदायका महिलाहरुलाई नेतृत्व विकास एवं सीप विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।

    नगरपालिकाले सबै जातजातिको मौलिक संस्कृति संरक्षण गर्दै कुसुण्डा, बोटे, चेपाङ, दरै, कुमाल, मगर, गुरुङ, नेवार, मुस्लिम, अन्य जातका सांस्कृतिक एवं जीवन उपयोगी सीपमूलक कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

    दलितसँग नगरप्रमुख कार्यक्रम

    नगरपालिकाले ‘दलितसँग नगर प्रमुख’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । दलितका परम्परागत पेशालाई आधुनिकीकरण गरी उत्पादकत्व वृद्धिका लागि यो कार्यक्रममार्फत् परम्परागत आरनहरुको आधुनिकीकरण, सिलाई पेशामा आबद्ध व्यक्तिहरुलाई तालिम एवं मेसिन खरिद अनुदान, छालाको काम गर्नेलाई मेसिन खरिद अनुदान तथा अन्य परम्परागत पेशामा अनुदान दिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।