मस्र्याङ्दीले भासिएको पुलको लठ्ठा काटियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    मस्र्याङ्दीले भासिएको पुलको लठ्ठा काटियो

    खबरपुञ्ज संवाददाता

    १८ असार २०७८, शनिबार

    तस्वीर : रामबहादुर धामी

    आँबुखैरेनी : निरन्तरको वर्षाका कारण मस्र्याङ्दीमा आएको बाढीले भासिएको झोलुङ्गे पुलको लठ्ठा काटिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट र गोरखा नगरपालिका–१४ जोड्ने झोलुङ्गे पुल बिहीबार राति आएको बाढीले भासिएको थियो ।

    पुलमा थप जोखिम हुन नदिन लठ्ठा काटिएको तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । बाढीले तनहुँतर्फको पुलको भाग भासिएर नदीमा पुगेको थियो । “पुल मर्मत नभइन्जेल थप जोखिम हुन नदिन पुलको लठ्ठा काटिएको छ,” बरालले भन्नुभयो ।

    पुलबाट दैनिक सयौ सर्वसाधारण वारपार गर्दथे । गोरखास्थित अकला मन्दिर जाने बाटो पनि यही पुल थियो । पुल भत्किएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।

    मुख्य राजमार्ग खुल्यो, सहायक राजमार्ग अवरुद्ध

    वर्षाका कारण पहिरो आउँदा जिल्लाका अधिकांश सहायक राजमार्ग अवरुद्ध भएका छन् । मुख्य राजमार्गको पहिरो हटाइएपनि सहायक राजमार्ग खुलाउन सकिएको छैन । सहायक राजमार्ग खुलाउने क्रम जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो ।

    उहाँका अनुसार प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरवाराही जाने मार्ग पनि भासिएको छ । उक्त मार्गको प्राविधिक सहित अनुगमनको तयारी गरिएको छ ।

    शुक्लागण्डकी नगरपालिकाकै दुलेगौडा लामागाउँ मोटरमार्ग पनि भासिएको छ । जिल्लाका अधिकांश ग्रामीण भेगका सडक पहिरोले अवरुद्ध भएको छ ।