कृषिलाई उत्सवको रुपमा मनाउन छाडेपछि असारे गीत हराउँदै
तस्वीर : सङ्गम सुमिर पिया
दुलेगाैडा : असारको महिना । कहिले झमझम पानी दर्कन्छ, कहिले चर्को घाम । कोरोना भाइरसको महामारी रोक्न गरिएको निषेधाज्ञाले किसानलाई छोएको छैन । रोगले भन्दा भोक मरिएला भन्दै मानो रोपेर मुरी उब्जाउने चटारो किसानलाई छ ।
दर्किएको पानी र चर्को घामको वास्ता नगरीकन हली र बाउसे खेतका गह्रा सम्याउछन् । रोपारेहरु हरिया बीउ काढेर दबदबे हिलोमा छुपुछुपु रोप्छन् । कहिलेकाहीँ हली बाउसे र रोपारकोे हिलो छ्यापाछ्याप पर्छ । यस्तै दृश्य आजकाल टारी खेत र फाँटहरुमा जताततै देखिन्छ । रोपाइँको यी दृश्यमा असारे गीत भने छुटेको छ ।
रोपाइँ शुरु गर्नु पहिले बिहान र रोपाइँ सकेपछि बेलुका बाली (असारे गीत) गाएर धान खेती राम्रो होस् भनेर सिमे र भुमे देवतासँग प्रार्थना गरिँदैन । हली, बाउसे र रोपारेबीच असारे भाकामा जुहारी पनि चल्दैन । असारे गीत गुञ्जिन थलो १५ असारमा हुने रोपाइँ महोत्सवमा बनेको छ । त्यो पनि दुई वर्षदेखि कोरोनाले रोकेको छ ।
‘चुइयाको स्याँखु म ओड्नी छैन साउनको झरीमा
एक मानो चामल साथ लग्ने छैन मरेको घडीमा’
यी शब्दमा असारे भाका हालेर दिनभर खेतमा धानको बीउ रोप्दै गाएको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारकी ७८ वर्षीया सीतादेवी पौडेल झलझली सम्झिनुहुन्छ । ‘बिहान खेतमा पसेदेखि निस्कने बेलासम्म गाईरहन्थ्यौ । एक पाली नि बिसाउथेनौँ । दिन गा’को पत्तो पनि हुन्थेन्,’ उहाँ भन्नुहुन्छ, ‘दुई चार जना साथी हुन्थे, उनीहरुसँगै गाईरहन मन लाग्ने । यसरी असारे भाका गाउँदा चर्को घामको लाको थाहा हुन्थेन । थकाई लाएको पनि थाहा नहुनी ।’
अहिले न असारे भाका गाउने उनका दौतरी छन्, न त छोरीबुहारीले गाउन जानेको । धान रोप्दै गाईने असारे गीतमा दुख पीडा, हस्यौली ठट्यौली, मायापिरतीका कुरा पनि समेट्ने गरेको उहाँले सुनाउनुभयो ।
खेत बाँझिन थालेपछि असारे भाका पनि गुञ्जिन छाडेको खैरेनीटारकी विष्णुमाया वाग्लेको बुझाई छ । ‘गाउँबाट सबै बजार झरे । खेत बाँझै राखेर सबै विदेश गएका छन् । रोपाइँ पनि हुन छाड्यो । असारे गीतको त के कुरा गर्नु र,’ उहाँ भन्नुहुन्छ ।
मनोरञ्जनका यथेष्ट साधन भएपछि पछिल्लो पुस्ताले असारे भाका बिर्सेको उहाँको बुझाई छ । ‘अहिले त रेडियो, मोबाईल, टिभी छ । यसैमा भुल्याछन् । हाम्रो पालामा केही थिएन्,’ उहाँले सुनाउनुभयो । असारे भाकामा स्वर गुञ्जिएको कतै नसुन्दा उहाँलाई खल्लो महशुस हुन्छ । पछिल्लो पुस्तालाई सिकाउनुपर्नेमा उहाँको जोड छ । ‘हाम्रो संस्कृति हो जोगाउन पाए हुन्थ्यो झै लाग्छ,’ उहाँले भन्नुभयो ।
रोपाइँमा मात्रै नभएर कलाकारले पनि असारे भाका रेकर्ड खासै गराउँदैनन् । एकाधले बाहेक बजारमा असारे भाका ल्याउने हिम्मत जुटाउँदैनन् । किनकी पश्चिमा संस्कृतिले प्रभावित कलाकारमा संस्कृति जर्गेना गर्ने भन्दा बजारमा भाईरल बन्ने होडबाजी छ ।
कृषिलाई उत्सवको रुपमा मनाउन छाडेकाले असारे गीत हराउँदै गएको लोक गीतका अध्येता समेत रहेका पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. कसुमाकर न्यौपाने बताउनुहुन्छ । ‘जसरी पहिलेका मान्छेले खेत रोप्दा रमाउँथे, त्यो रमाउने पद्धद्धि गुमेको छ । पुरानो कृषि पद्दति पनि हराउँदै छ । खेतमा हलो जुवा गोरु भन्दा ट्याक्टरहरु बढेको छ’, उहाँ भन्नुहुन्छ, ‘आधुनिकताले असारे गीतमा पनि असर पारेको हो ।’ प्रविधि र आधुनिक सभ्यताले संस्कृतिलाई लोप बनाएको उहाँको भनाई छ ।
आयातित संस्कृतिप्रति मुग्ध हुने मानसिकताले पनि लोक संस्कृति लोप हुँदै गएको डा. न्यौपानेको विश्लेषण छ । ‘कृषि कर्मप्रति लालयित कम छन् मान्छेहरु । आयतित संस्कृतिप्रति मोहित छन् । यीनै कारणले हाम्रो असारे गीत लोप हुन थालेको हो,’ उहाँले भन्नुभयो । विदेशीहरु असारे गीत सुनेर गद्गदको भएजस्तै स्वदेशमै गद्गदको भावना जागृत गराउन सके संरक्षण हुने उहाँले बताउनुभयो । सांगीतिक संस्कृति जोगाउन सरकारले पनि योजनाबद्ध ढंगले लाग्नुपर्ने न्यौपानेको सुझाव छ ।
लोकगीतका थुप्रै प्रकार छन् ।
असारे गीत कर्म गीत हो । डा. न्यौपानेका अनुसार खेत रोपाइँ गर्दा गाईने भएकाले यसलाई कर्म गीत भनिएको हो । असारे गीत पनि तीन प्रकारका हुन्छन् । बिहान रोपाइँ शुरु गर्नुपूर्व र साँझ रोपाइँ सकिएपछि सिमे भुमे देवतासँग प्रार्थना गर्दै गाउने बाली गीत हुन्छ । अर्को असारे गीत । पूर्वी पहाडी भेगतिर रसिया गीत प्रचलित छ । रसिया गीत असारमा मात्रै नभएर अन्य समय पनि गाउन मिल्ने न्यौपानेको भनाई छ । असारे गीत र रसिया गीत कहीँकतै सुनिए पनि बाली गीतको अवशेष मात्र बाँकी रहेको उहाँले बताउनुभयो ।
असारे भाकासँगै अर्मपर्म गरी रोपाइँ गर्ने चलन पनि गाउँघरमा विस्तारै हराउँदैछ । १५ असारका दिन सामाजिक सञ्जालमा फोटो र भिडियो अपलोड गर्नका लागि हिलो खेल्न लालयित युवा असारे गीत संरक्षणमा पनि आर्कषित हुन आवश्यक रहेको छ ।