


दमौली : कोरोना कहरका कारण जारी निषेधाज्ञाका कारण बन्द रहेका सार्वजनिक यातायात शुक्रबारबाट सञ्चालनमा आउने भएको छ । गत वैशाख २२ गतेदेखि बन्द गरिएका सार्वजनिक यातायात शुक्रबारदेखि सञ्चालन गर्न दिने निर्णय भएको छ ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले जोर विजोर प्रणालीमा सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको छ । तर निषेधाज्ञा भने असार ३१ गतेसम्म लम्बिनेछ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा असार २४ सम्म कायम छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सिट सङ्ख्या भन्दा थोरै यात्रु राखी सवारी साधन सञ्चालनको अनुमति दिइएको छ ।
यस्तै होटल तथा रेष्टुरेन्टलाई तयारी खाना तथा खाजा प्याकिङ गरि विक्री गर्न मात्र अनुमति दिइएको छ । बैङ्क तथा वित्तीय संस्थाहरु न्यूनतम कर्मचारीको उपस्थिति गराई स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर सञ्चालन गर्न पाइनेछ । फलफूल, खाद्यान्न, तरकारी, दूध र दूग्धजन्य पदार्थ, माछा, मासु, अण्डा, दाना पशुपंक्षीको औषधी विक्री गर्ने पसल विहान ११ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ भने अत्यावश्यक बाहेका अन्य सबै प्रकारका व्यवसाय बिहान ९ देखि २ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।
नीजि सवारी साधनहरु भने यस अघि नै जोरबिजोर रुपमा सञ्चालन भइसकेको छ । सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी घर, हेल्थ क्लव, व्युटी पार्लर, सैलुन, सभा, आमसभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शक सहितको खेलकुद तथा भौतिक रुपमा हुने तालिम, प्रशिक्षण र सेमिनार भने सञ्चालन गर्न नपाइने भएको प्रशासनले जनाएको छ ।