एक महिनामै उप्किएको कालोपत्रे पुनः कालोपत्रे गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एक महिनामै उप्किएको कालोपत्रे पुनः कालोपत्रे गरिने

    खबरपुञ्ज संवाददाता

    २२ असार २०७८, बुधबार

    तनहुँ : एक महिनामै उप्किएको कालोपत्रे पुनः कालोपत्रे हुने भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ गुरुङटारदेखि पिप्लेसम्मको खण्डमा उप्किएको कालोपत्रे पुनः निर्माण गरिने भएको छ । एक महिना अगाडी सम्पन्न भएको कालोपत्रे केही दिन अगाडी उप्किएको थियो ।

    बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, डुम्रे भन्सार साना शहर विकास आयोजनाका प्रमुख सफल श्रेष्ठ, निर्माण कम्पनीका प्रतिनिधि लगायतले बुधबार उक्त सडकको अनुगमन गरेको छ । अनुगमनका क्रममा आयोजना प्रमुख श्रेष्ठले उप्किएको ठाउँमा पुनः कालोपत्रे गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

    बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले गुणस्तरहीन सामग्री प्रयोगका कारण एक महिनामै उप्किएको बताउनुभयो । “कालोपत्रे उप्किएको सम्बन्धमा सञ्चारमाध्यम मार्फत् बाहिर आएपछि उच्चस्तरीय अनुगमन भयो, केही दिनभित्रै उप्किएको ठाउँमा पुनः कालोपत्रे गर्ने सहमति भएको छ,” उहाँले भन्नुभयो । पोख्रेलका अनुसार एक किलोमिटर खण्डमध्ये सात ठाउँमा कालोपत्रे उप्किएको छ ।

    सङ्घीय सरकारको रु दुई करोड बजेटमा ठेकेदार कम्पनीले रु एक करोड २९ लाखमा सम्झौता गरी कालोपत्र तथा ढलान कार्य गरेको हो । आयोजनाले पाँच सय मिटर ढलानपछि ९०० मिटर कालोपत्र गरेको थियो । उक्त कामको जिम्मा काठमाडौस्थित सुलभ इन्फाले पाएको थियो ।