व्यास नपाको रु एक अर्ब ७७ करोडको बजेट पारित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    व्यास नपाको रु एक अर्ब ७७ करोडको बजेट पारित

    खबरपुञ्ज संवाददाता

    २२ असार २०७८, बुधबार

    दमाैली : तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको बजेट पारित गरेको छ । नगरपालिकाको आज सम्पन्न ३५ औं नगरसभाबाट उक्त बजेट पारित भएको हो । गत असार १० गते नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको थियो ।

    नगर प्रमुख वैकुण्ठ न्यौपानेले कूल बजेटमध्ये चालुतर्फ ५७.८३ र पुँजीगततर्फ ४२.१७ प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । नगरपालिकाको सभाहलमा आज आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख न्यौपानेले स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार लगायतलाई प्राथमिकतामा राखेर बजेट पारित गरिएको जानकारी दिनुभयो ।

    नगरपालिकाले नगर स्तरीय अस्पताल निर्माणका लागि रु एक करोड, समता विद्यालय सञ्चालनका लागि रु एक करोड, कोभिड–१९ नियन्त्रणका लागि रु एक करोड २५ लाख बजेट विनियोजन गरेको न्यौपानेले बताउनुभयो । उहाँका अनुसार नारेश्वरताल, मानुङकोट पूर्वाधार विकास, मादी ताल परियोजना, १०८ फिटको व्यासमूर्ति निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।

    नगरसभाले विनियोजन विधेयक, आर्थिक विधेयक, पुरातात्विक, ऐतिहासिक स्थलको संरक्षण गर्न बनेको विधेयक, कर्मचारी समायोजन ऐन पारित गरेको सो अवसरमा जानकारी दिइयो ।

    नगरपालिकाका अनुसार कूल बजेटमध्ये आर्थिक विकास तर्फ रु दश करोड ११ लाख ९६ हजार, सामाजिक विकासतर्फ रु ९३ करोड १७ लाख ७५ हजार, पूर्वाधार विकासतर्फ रु ४५ करोड ३८ लाख २५ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु चार करोड ६६ लाख ५० हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ रु दुई करोड ५४ लाख ६६ हजार विनियोजन गरिएको छ ।

    कूल विनियोजित बजेटमध्ये चालुतर्फ रु एक अर्ब दुई करोड ८७ लाख १२ हजार र पुँजीगततर्फ रु ७५ करोड दुई लाख विनियोजन गरिएको छ । उक्त बजेटमध्ये सङ्घ सरकारबाट सशर्त अनुदान बापत ५६ करोड १७ लाख, सङ्घ सरकारको सामाजिक सुरक्षा अनुदानबापत रु २१ करोड, आन्तरिक श्रोतको आयबाट रु २० करोड ५० लाख, सङ्घ सरकारको वित्तीय समानिकरण अनुदान रु १९ करोड ७६ लाख, सञ्चित कोष अल्याबाट रु १५ करोड ३७ लाख १२ हजार, सङ्घ सरकारको राजश्व बाँडफाँडबाट रु १२ करोड ९८ लाख ५१ हजार, राजश्व बाँडफाँड अन्तर्गत मालपोत रजिष्ट्रेशनबाट रु १० करोड आम्दानी हुने अनुमान छ ।

    त्यस्तै नगर विकास कोष ऋणबाट रु दश करोड, प्रदेश वित्तीय समानीकरण अनुदानबाट रु दुई करोड ४४ लाख ७८, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट रु एक करोड ७४ लाख ७५ हजार, गाउँ नगर साझेदारी कोषबाट रु एक करोड ६५ लाख, सङ्घघ विशेष अनुदानबाट रु एक करोड ३७ लाख, प्रदेशको विशेष अनुदानबाट रु एक करोड, प्रदेशको सशर्त अनुदानबाट रु एक करोड आम्दानी हुने अनुमान छ ।

    कर्मचारी बढुवा र प्रोत्साहन

    नगरपालिकाले स्थानीय तहमा कार्यरत कर्मचारीलाई बढुवा गर्ने गरी ऐन पास गरेको छ । पाँच वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई योग्यता र क्षमताका आधारमा बढुवा गर्न उक्त ऐन बनाइएको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

    साथै अवकाशप्राप्त कर्मचारीलाई उपदान दिने व्यवस्था समेत उक्त ऐनमा समावेश गरिएको छ । करारमा कार्यरत कर्मचारीका लागि पनि उपदान दिने व्यवस्था ऐनमा समावेश गरिएको छ ।