बाढी पहिरोको बबन्डर : जोगिन भाग्दा पहिरोले नै थिच्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    बाढी पहिरोको बबन्डर : जोगिन भाग्दा पहिरोले नै थिच्यो

    खबरपुञ्ज संवाददाता

    २४ असार २०७८, शुक्रबार

    * बिहीबार बाढी पहिरोमा २ जनाको मृत्यु, १ बेपत्ता
    * बर्खा सुरु भएपछि बाढी पहिरोमा परी तनहुँमा ५ जनाको मृत्यु, २ जना बेपत्ता र १० जना घाईते भएका छन् ।

    दुलेगौँडा : बुधबार रातभर पानी दर्कियो । बिहीबार विहानीपख पनि पानी बिसाएन । ऋषिङ गाउँपालिका–७ दधिवनका पदमबहादुर थापा र देवीसरको दम्पत्ती घरमै हुनुहुन्थ्यो । ७ बजेपछि घर माथिबाट पानीको भल आयो । थोरै पहिरो पनि खस्यो । पहिरो झर्ने संकेत पाएपछि घरमा बस्नु खतरा मानेर ज्यान जोगाउन थापा दम्पत्ति सुरक्षित स्थानतिर लाग्नुभयो । पदमबहादुरले घरनेर खसेको पहिरो पार गर्नुभयो । तर, देवीसराको खुट्टा त्यै पहिरोको हिलोमा फस्यो र चप्पल अड्कियो ।

    चप्पल निकाल्ने चेष्टा गर्दागर्दै पहिरोले ५२ वर्षीया देवीसरालाई थिच्यो र माटोमै मिलायो । पहिरोमा पुरिएर उहाँको मृत्यु भएको छ । बिहान पहिरोमा पुरिएको उहाँको शव दिउँसो ४ बजेपछि मात्रै फेला पारिएको छ ।

    देवीसरालाई घरमाथिकाे पाखो पहिरिएर पुरको स्थानीय युवा दुर्गाबहादुर थापाले बताउनुभयो । ‘पहिरो झर्ने खतरा ठानेर भाग्दा झन त्यही त्यही फस्नुभएछ’, उहाँले भन्नुभयो । यहाँका ३ घर पहिरोले पूर्ण क्षति बनाएको छ । तर, देवीसरा बाहेक सबैले भागेर ज्यान जोगाउन सफल भएका छन् ।

    ऋषिङमै पहिरोमा पुरिएर अर्का एक पुरुष पनि मृत्यु भएको छ । ऋषिङ गाउँपालिका–८ माझकोटका ४१ वर्षीय खुमबहादुर थापाको मृत्यु भएको हो । थापा ऋषिङ गाउँपालिकाको कार्यालयमा सुरक्षागार्ड हुनुहुन्थ्यो ।

    बिहान साढे ५ बजे घरबाट गोठमा गएका उहाँलाई माथिबाट पहिरो खस्दा बेपत्ता भएको थापाको शव साँझ मात्रै फेला परेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । श्रृंगपथ सडक तलबाट पहिरो खसेर बेपत्ता उहाँको दिनभर स्थानीय र प्रहरीले खोजी गरेका थिए । पहिरो ठूलाे भएकाले शव भेट्टाउन मुस्किल भएको थियो । ऋषिङका विभिन्न स्थानमा पहिरो खसेको छ । केही घरमा क्षति भएका छन् । अधिकांश सडक अवरुद्ध बनाएको छ । पहिरोले खेतबारी पुरेको छ ।

    यता जिल्लाकै म्याग्दे गाउँपालिकामा पनि खोलाले बगाएर १ जना बेपत्ता भएको खबर छ । बुधबार रातीदेखी परेको अविरल बर्षाका कारण उर्लेको म्याग्दे खोलाले ४५ वर्षीय मैत नेपालीलाई बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिम्लिसिनाले बताउनुभयो । म्याग्दे –४ घुम्तीमा पुलमाथि आएको खोला तर्ने क्रममा सोही स्थानका नेपाली बेपत्ता भएको उहाँको भनाई छ । स्थानीय र प्रहरीले बेपत्ता उहाँको बिहीबार दिनभर खोजी कार्य जारी राखेपनि भेट्टाउन सकेनन् ।

    यहाँको म्याग्दे खोला उर्लेर पृथ्वी राजमार्गसम्मै आएको थियो । सवारी आवतजावतमा कठिनाई हुँदा दुर्घटनाको जोखिम बढाएको थियो । म्याग्दे खोला आसपासका बस्ती डुबानमा परेका छन् । सयौँ रोपनी खेतमा लगाईएको धानवाली नष्ट भएको छ ।


    तनहुँमा यसपाली बाढी पहिरोले बबन्डर मच्चाएको छ । वर्षा शुरु भएपछि हालसम्म पटक–पटक खसेको पहिरोले जिल्लामा ५ जनाको प्राण लिईसकेको छ । १० जना घाईते बनाएको छ । खोलाले बगाएर २ जना बेपत्ता भएका छन् ।