दमाैली : एक साताको अवधिमा तनहुँ प्रहरीले ६ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालतबाट कैद र जरीवाना फैसला तोकिएका विभिन्न मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले आज मात्र दुई फरार प्रतिवादी पक्राउ गरेको छ । नकबजनी चोरी र लागुऔषध मुद्दामा फरार व्यास नगरपालिका–११ फराकचौर बस्ने २३ वर्षीय विकास नेपाली पक्राउ परेका छन् । जिल्ला अदालत तनहँुले विसं २०७७ मङ्सिर ३० गते ९ महिना ६ दिन कैद र रु दुई हजार जरीवानाको फैसला सुनाएको थियो ।
यसैगरी लागुऔषध मुद्दामा फरार व्यास नगरपालिका–३ बिसघरे बस्ने सिम्रन सुनार पक्राउ परेकी छन् । जिल्ला अदालत तनहुँले विसं २०७७ चैत २६ गते एक महिना तीन दिन कैद र रु दुई हजार जरीवानाको फैसला सुनाएको थियो । दुवै जनालाई आज आवश्यक कारवाहीका लागि अदालत दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
यसैगरी प्रहरीले यही हप्ता लागुऔषध र अभद्र व्यवहार मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ गरेको छ । लागुऔषध मुद्दामा फरार रहेका शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी बस्ने २४ वर्षीय आशिष श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई जिल्ला अदालत तनहुँले विसं २०७७ फागुन २६ गते दुई महिना २९ दिन कैद र रु १२ हजार जरीवानाको फैसला सुनाएको थियो ।
अभद्र व्यवहार समेत विविध मुद्दाका फरार शुक्लागण्डकी नगरपालिका–९ घारी बस्ने २५ वर्षीय अर्जुन भुजेल पक्राउ परेका छन् । निजलाई जिल्ला अदालत तनहुँले विसं २०७७ चैत २६ गते एक महिना २६ दिन कैद र रु दुई हजार जरीवानाको फैसला सुनाएको थियो ।
यस्तै अभद्र व्यवहार मुद्धामा तनहुँ जिल्ला अदालतबाट सजाय तोकिएका शुक्लागण्डकी–४ दुलेगौडा बस्ने २५ वर्षीय निनो श्रेष्ठ पक्राउ परेका छन् । अदालतले उनलाई २०७७ चैत २६ गते र २०७६ पुस २१ गते अभद्र व्यवहार र विविध मुद्धामा २ महिना १३ दिन कैद र रु १८ हजार जरीवानाको फैसला सुनाएको थियो । उनी गत पुस २१ गतेदेखि फरार थिए ।
यसैगरी लागुऔषध मुद्धामा कैद तोकिएका शुक्लागण्डकी–८ ढोरफिर्दी बस्ने ३४ वर्षीय तिलक भन्ने तिलबहादुर विक पक्राउ परेका छन् । निजलाई अदालतले विस २०७५ चैत २५ गते ३ दिन कैद र रु दुई हजार जरीवानाको फैसला सुनाएको थियो ।