बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि रु ५१ करोड ३४ लाख एक हजार पाँच सयको बजेट पारित गरेको छ । शुक्रबार आयोजित नवौ गाउँसभाले आगामी वर्षका लागि प्रस्तुत बजेट पारित गरेको हो । गत असार १० गते शुरु भएको गाउँसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।
गाउँपालिकालाई सङ्घ सरकारमार्फत् वित्तीय समानीकरण अनुदान बापत रु ९ करोड ४ लाख, सशर्त अनुदान बापत रु १८ करोड ७५ लाख, विशेष अनुदानबापत रु २ करोड ४९ लाख, राजश्व बाँडफाँड बापत रु ६ करोड ५४ लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारमार्फत् वित्तीय समानीकरण अनुदान बापत रु १ करोड ५ लाख ३१ हजार, राजश्व बाँडफाँड बापत रु ८९ लाख ३२ हजार, विशेष अनुदान बापत रु ५० लाख र समपुरक अनुदान बापत रु ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
उत्कृष्ट कर्मचारी पुरस्कृत
गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने सात कर्मचारी पुरस्कार गरेको छ । गाउँसभाकाे अवसरमा शुक्रबार सात कर्मचारीलाई नगद सहित पुरस्कृत गरिएकाे हाे ।
लेखा अधिकृत कृष्णप्रसाद बसौला, कृषि शाखा प्रमुख सुलभ अधिकारी, प्राविधिक अजयकुमार पण्डित, राजश्व र न्यायिक शाखाकी बन्दना लामा गुरुङ,वारी चालक नारद पाटा मगर, कार्यालय सहयोगी रामेश्वर कुंवर र वडा नम्बर १ का सचिव कुमार लम्साललाई पुरस्कृत गरिएको गाउँपालिकाकी उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो । उनीहरुलाई नगद रु दश हजार र प्रशंसापत्रले पुरस्कृत गरिएको उहाँले बताउनुभयो ।