शुक्लागण्डकीमा बजार अनुगमन सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीमा बजार अनुगमन सुरु

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०७८, मंगलवार

    दुलेगाैडा : शुक्लागण्डकी नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेकाे छ । नगरपालिकाको अनुगमन टोलीले सोमबारदेखि बजार अनुगमन थालेको हो । पहिलो दिन दुलेगौँडा बजारमा रेहको किरान स्टोर्स र डिपार्टमेन्टल स्टोर्सको अनुगमन गरेको अनुगमन संयोजक नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले बताए ।

    उनका अनुसार दुई दर्जन किराना पसल, डिपार्टमेन्टल र पेय पदार्थको डिलरमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा मुल्य सुची नराखेको, व्यवसाय दर्ता र नविकरण नगरिएको पाईएको उनले बताए । ‘केही म्याद नाघेका बस्तु पनि फेला परेको छ । ती वस्तु जफत गरेका छौँ’, उनले भने ।

    मसला, चाउचाउ, बिस्कुट लगायतका सामाग्री म्याद नाघेको फेला पारिएको हो । व्यवसाय दर्ता नविकरण गर्ने, मुल्य सुँची ग्राहकले देख्ने स्थानमा टाँस्न सुचित गराईएको छ । गत बर्षको तुलनामा पहिलो दिनको अनुगमनमा बजार सुधारिएको पाईएको लम्सालले बताए । गत बर्ष दशैँको बेला अनुगमन गर्दा बजारमा छ्यापछ्याप्ती म्याद नाघेका खाद्यवस्तु र पेय पदार्थ फेला परेको थियो । पहिलो दिनको अनुगमनले यसपाली म्याद नाघेका बस्तु निकै कम फेला परेको हो ।

    जफत गरेको सामाग्री प्रहरी प्रशासनको रोहबारमा नष्ट गर्ने जनाईएको छ । नगरपालिकाले २४ असोजसम्म बजार अनुगमनलाई निरन्तरता दिनेछ । दुलेगौँडा बजारसँगै खैरेनीटार, बेलचौतारा, कोत्रे, ढोरफिर्दी, साँखे, मान्द्रे लगायतका यहाँका प्रमुख बजारमा अनुगमन हुनेछ । चाडवाडको बेलामा कालोबजारी हुन सक्ने र उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड हुने गरी अखाद्य बस्तुको विक्री हुने भएकाले नगरपालिकाले बर्षेनी चाडपर्वको बेला बजार अनुगमनलाई तीव्रता दिने गरेको छ ।

    अनुगमन टोलीमा नगरपालिकाका कर्मचारीसँगै, व्यवासायिक संघ संस्थाका प्रतिनिधी, प्रहरी र पत्रकार सहभागी छन् ।