शव बोकेर महिला घाटमा (तस्वीर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शव बोकेर महिला घाटमा (तस्वीर सहित)

    खबरपुञ्ज संवाददाता

    ४ कार्तिक २०७८, शुक्रबार

    दमाैली : पित्तृ सत्तात्मक सोचको अन्त्य गर्न तनहुँका महिलाहरुले शव बोकेर दमौलीस्थित घाटमा पुर्याएका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ८६ वर्षीय जगतबहादुर अधिकारीको शुक्रबार बिहान मृत्यु भएपछि आश्रमका सञ्चालक महिलाहरुले शव बोकेर घाटमा पुर्याएका हुन् ।

    विगत ६ वर्षदेखि आश्रममा आश्रय लिइरहेका अधिकारीको आज बिहान निधन भएको थियो । आश्रमदेखि एक किलोमिटरको दूरीमा रहेको मादीसेती घाटमा महिलाहरुले शव बोकेर गएका थिए । मृतक अधिकारीको शवमा मृतकका भाईका पनाति सुमन अधिकारीले दागबत्ती दिएका छन् ।

    समाजमा महिलाले शव बोकेर घाट जानुहुँदैन भन्ने परम्परा रहेपनि त्यस्ता परम्परालाई तोड्नका लागि महिलाहरुले शव बोकेको आश्रमकी सचिव निर्मला मल्लले जानकारी दिइन् । ज्येष्ठ नागरिकलाई पालनपोषण गरिसकेपछि उनीहरुको मृत्युपश्चात् आफूहरुले नै शव बोकेर घाटसम्म पु¥याउने गरेको उनले बताइन् । “६ वर्षदेखि आश्रममा बस्नुभएका उहाँ हाम्रै घरको सदस्य भइसक्नुभएको थियो, उहाँको मृत्यु पश्चात् हामीले नै शव बोकेका हौ,” मल्लले भनिन् ।

    आश्रमका महिलाहरुले यसअगाडी पनि आश्रममा आश्रय लिइरहेका ज्येष्ठ नागरिकको मृत्यु हुँदा शव बोक्ने गरेका छन् । मन्त्र जप्ने ओँठभन्दा सेवा गर्ने हात पवित्र हुन्छ भन्ने मूलमन्त्रका साथ महिलाले सहजरुपमा शव बोकेर घाटसम्म पु¥याएको आश्रमका कार्यवाहक अध्यक्ष शकुन्तला आलेले जानकारी दिइन् । “पितृ सत्तात्मक सोचलाई अन्त्य गर्नका लागि महिलाले पनि समाजमा केही गर्न सक्छन् भन्ने शिक्षा दिनका लागि शव बोक्ने कार्यको सुरुवात गरेका थियौ,” उनले भने ।

    विसं २०७० वैशाख १ गतेदेखि महिलाको सक्रियतामा सञ्चालन भएको आश्रममा हाल तीन जनाले आश्रय लिइरहेका छन् । चार जनालाई भने छोराछोरीले घर लगिसकेका छन् । आश्रममा आश्रय लिएकामध्ये पाँच जनाको मृत्यु भएको छ ।

    आश्रम सञ्चालनका लागि मासिक करिब रु ३५÷४० हजार खर्च हुने गरेको छ । वृद्धवृद्धाको स्याहारसुसारका लागि आश्रममा एक जनालाई रोजगारी पनि दिइएको छ । दाताहरुको सहयोगले आश्रम सञ्चालनमा सहज भएको छ । विभिन्न व्यक्ति तथा सङ्घसंस्थाहरुको सहयोगबाट आश्रम सञ्चालनमा सहज भएको आश्रमकी सचिव मल्लले जानकारी दिइन् । “व्यक्तिहरुले जन्मदिन, पुण्यतिथि लगायतको अवसर पारेर आश्रममा सहयोग गरिरहनुहुन्छ, त्यही सहयोगको कारण आश्रम सञ्चालनमा कठिनाई भएको छैन,” मल्लले भनिन् । विभिन्न पेशा व्यवसायमा आबद्ध महिला सङ्गठित भएर आश्रम सञ्चालन गरेको र ज्येष्ठ नागरिकलाई सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको मल्लले बताइन् ।

    ३० जना महिलाहरुबाट शुरु भएको वेदव्यास ज्येष्ठ नागरिक आश्रममा अहिलेको सदस्य सङ्ख्या ३ सय ३० पुगेको छ । स्थापनाकालमा ३० जना महिलाले रु एक÷एक हजार उठाएर रु ३० हजारको अक्षयकोष स्थापना गरेका थिए । मल्लका अनुसार आश्रममा आश्रय लिइरहेका ज्येष्ठ नागरिकको स्याहार सुसारमा कुनै कमी गरिएको छैन । केही वर्षसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको आश्रमले अहिले आफ्नै जग्गा खरिद गरी भवन निर्माण गरेको छ । विसं २०७२ सालमा आयोजना गरिएको महायज्ञबाट सङ्कलन भएको रकमले दुई रोपनी क्षेत्रफल जग्गा खरिद गरी भवन निर्माण गरिएको छ ।