तनहुँ हाइड्रो : प्रशारण लाइन निर्माणका लागि सात वटा टावर तयार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँ हाइड्रो : प्रशारण लाइन निर्माणका लागि सात वटा टावर तयार

    खबरपुञ्ज संवाददाता

    ५ कार्तिक २०७८, शनिबार

    दमौली : तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणले गति लिएको छ । आयोजनाको प्याकेज ३ अन्तर्गतको प्रशारण लाइन निर्माणका लागि हालसम्म सात वटा टावर निर्माण सम्पन्न भएको छ ।

    कूल ९४ मध्ये २७ वटा फाउण्डेशनको काम सकिएको छ भने ६ वटा फाउण्डेशनको काम चलिरहेको छ । त्यस्तै २० वटा टावरका लागि आवश्यक सामग्री फिल्डमा आउने क्रममा रहेको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिए । प्रशारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको छ ।

    प्रशारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ । त्यसका लागि जग्गाको मुआब्जा पनि वितरण भइरहेको छ । प्रशारण लाइन निर्माणका क्रममा व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ ।

    प्रशारण लाइन निर्माणका लागि रुख काट्नुपर्ने सङ्ख्या घटेकाले आइइ पुनरावलोकन गरी स्वीकृतीका लागि विद्युत विकास विभाग पठाइएको घिमिरेले बताउनुभयो । प्रशारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गर्न रु एक करोड ३१ लाख ३४ हजार पाँच सय दश मुआब्जा निर्धारण भएको छ ।

    आयोजनाले तीन वटै प्याकेजका कामलाई तीव्रता दिइरहेको छ । प्याकेज १ अन्तर्गत पनि निर्माण कम्पनीले आवश्यक तयारी थालेको छ । प्याकेज १ अन्तर्गतको नदी फर्काउने, बाँध निर्माण लगायतका पहिलो प्याकेजका लागि आठ जना भियतनामी प्राविधिक साइटमै परिचालन छन् । उक्त कामका लागि आयोजनाले सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्र.) लि. नेपाल जेभीसँग सम्झौता गरेको थियो । उनीहरुले अहिले साइटमा क्याम्प निर्माण, रिभर क्रसिङ सम्बन्धी काम गरिरहेका छन् । विस्तृत सर्वेक्षण र डिजाइनको काम पनि भइरहेको आयोजनाले जनाएको छ ।

    प्याकेज २ अन्तर्गत सिनो हाइड्रोले भूमिगत कामहरु गरिरहेको छ । जसअनुसार हाल पाँच ठाउँमा काम भइरहेको छ । पावरहाउस, वर्क टनेल, सर्च ट्याङ्क लगायतका काम चलिरहेको छ । सिनो हाइड्रोले हालसम्म पाँच वटा सुरुङको काम सकेको छ । १९० मिटरको केवल सुरुङ, २८१ मिटरको मुख्य प्रवेश सुरुङ, ४३७ मिटरको सर्च ट्याङ्क जाने पहुँच सुरुङ र ३१४ मिटरको ड्याम जाने सुरुङ खनेर सकिएको छ ।