दमाैली : तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा निर्माणाधीन अवस्थामा रहेको केबलकारको ‘राइट अफ वे’मा दुई सय ५७ रुख काटिने भएको छ । केबलकार निर्माणका लागि त्यसको त्यसको मार्गमा पर्ने रुख काट्न लागिएको हो ।
सव डिभिजन वन कार्यालय बन्दिपुरले शुक्रबारदेखि रुख कटानका लागि स्थलगत निरीक्षण शुरु गरेको छ । बन्दिपुर गाउँपालिका–४ स्थित कोच्चो सामुदायिक वनभित्रको दुई सय ५७ रुख काट्न लागिएको सव डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख सुरेश भुजेलले जानकारी दिए । रुख काट्नका लागि वन विभागबाट स्वीकृती प्राप्त भइसकेको छ । “दुई हप्ताभित्र रुख काटेर सकिन्छ, काटेको रुख सामुदायिक वनलाई बुझाउनुपर्छ,” उनले भने ।
आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केवलकार परियोजना निर्माणको कामलाई अगाडी बढाइएको छ । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरुको कम्पनी हो, जहाँ एक हजार एक सय भन्दा बढी लगानीकर्ता रहेका छन् ।
बन्दिपुर गाउँपालिका–४ ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केवलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट शुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ ।
विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबलकार सञ्चालन गर्ने लक्ष्य लिइएको थियो । तर कोभिड–१९ को प्रभावका कारण उक्त लक्ष्य प्रभावित भएको छ । विसं २०७६ चैत दोस्रो सातादेखि कोभिड–१९ का कारण लकडाउन भएपछि परियोजनाको काम प्रभावित भएको बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । अब विसं २०७९ फागुन १ गते बटम स्टेशनको सम्पूर्ण काम र केबलकारको सम्पूर्ण काम सकेर व्यावसायिक सञ्चालन गरिने शर्माले जानकारी दिए ।
कम्पनीले विसं २०७९ वैशाख १ गतेदेखि होटल लगायत सम्पूर्ण पूर्वाधार प्याकेजसहित फुलफेजमा पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना सञ्चालनमा ल्याउने रणनीति बनाएको थियो । माथिल्लो स्टेशनको बहुआयामिक चारतारे होटलसहितको निर्माण सम्पन्न गरी विसं २०८० असोज १ गते परियोजना मूल योजना सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
तर कम्पनीले त्यस भन्दा अगावै विसं २०७८ फागुन १ गते रेष्ट्रो जोन जोन सञ्चालनमा ल्याउने भएको छ । “केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ बजेदेखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौ,” शर्माले भने। उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेण्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ ।
परियोजनाको कूल लागत रु दुई अर्ब दश करोड पुगेको छ । मोनोकेवल डिटाचवेल रोटेटिङ गोण्डोला प्रविधिमा आधारित १९ गोण्डाला मार्फत् प्रति घण्टा तीन सय यात्रीहरु बोक्न सक्ने क्षमता रहेपनि त्यसलाई विस्तार गरिएको छ । बजारको माग र चापका कारण यसलाई विस्तारित गर्दै २५ वटा गोण्डोला मेटेरियल क्याविन सहित प्रति घण्टा पाँच सय यात्रुहरु बोक्ने र दैनिक १६ घण्टामाथि सेवा दिन सक्ने गरी अत्याधुनिक प्रविधि जडान गरी पूर्वाधार थप गरिने कम्पनीले जनाएको छ ।
यहाँ ल्याण्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दिपुरको ऐतिहासिकता झल्कने गरी बन्दिपुर घडी ः बन्दिपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेशनको पाँच तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभाउने विश्वास गरिएको शर्माले बताउनुभयो । यसैगरी वाटर पार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ ।
माथिल्लो स्टेशनमा ९ तल्ले चार तारे होटल बन्नेछ । यसअगाडी ६६ कोठा रहेपनि अब त्यसलाई बढाएर ८४ देखि एकसय सम्ममा स्तरोन्नति गरिनेछ । होटललाई निश्चित समय र व्यवस्थापन पार गरेर चार तारेबाट पाँच तारे होटलमा रुपान्तरण गर्ने गरी रणनीतिक तयारी थालिएको कम्पनीका सञ्चालक तारानाथ उपाध्यायले जानकारी दिनुभयो । एक अर्ब अधिकृत पुँजी रहेको कम्पनीको जारी पुँजी रु ७५ करोड र चुक्ता पुँजी रु २० करोड रहेकामा त्यसलाई बढाएर रु ९० करोड पु¥याउने लक्ष्य लिइएको छ ।