दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । चाडपर्वको अवसरमा प्रशासनले सोमबार दमौली बजारका मिठाई पसलको अनुगमन गर्दै बिना दर्ता व्यवसाय नगर्न व्यवसायीलाई निर्देशन दिएको हो ।
दसैंको सुरुवातदेखि थालिएको बजार अनुगमनलाई प्रशासनले निरन्तरता दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले दर्ता नगरी सञ्चालन भएका पसललाई दर्ता गर्न निर्देशन दिइएको जानकारी दिए ।
मिठाई पसलमा गरिएको अनुगमनका क्रममा व्यवसायीलाई सरसफाईमा ध्यान दिन सुझाव दिइएको छ । यसैगरी खानेकुरा पकाउन प्रयोग गरिएको तेल एकपटकभन्दा बढी प्रयोग नगर्न सचेत गराइएको बरालले जानकारी दिए । “अनुगमनका क्रममा केही पसलले एउटै तेल धेरै पटक प्रयोग गरेको पाइएकाले नष्ट गरिएको छ,” उनले भने ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालको नेतृत्वमा आन्तरिक राजश्व कार्यालय, घरेलु तथा साना उद्योग विकास कार्यालय, व्यास नगरपालिका लगायतका कर्मचारीको सहभागितामा अनुगमन गरिएको छ । अनुगमनलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ ।
चाडपर्वहरुमा हुन सक्ने अनियमितता, कालोबजारी, बढी मूल्य, असुली, मालसामानमा हुने गुणस्तरहिनता लगायतका विषयमा सूचना लिई आवश्यकता अनुसार स्थानीय तह समेतको सहकार्यमा बजार अनुगमनलाई प्रभावकारी बनाइने प्रशासनले जानकारी दिएको छ ।