दमौली : व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयको अधिवेशन अन्तिम समयमा आएर स्थगित भएको छ । बुधबार हुने भनिएको विद्यालय व्यवस्थापन समितिको अधिवेशन अन्तिम समयमा आएर रोकिएको हो ।
विद्यालयको अध्यक्षका लागि माधव अधिकारी, सुरेश वाग्ले, करुण काफ्ले र सूर्यचन्द्र लम्साल प्रतिस्पर्धामा छन् । माधव नेकपा एमाले निकट हुन् भने अन्य तीनै जना नेपाली काङ्ग्रेस निकट हुन् । काङ्ग्रेस निकटकै तीन जना उम्मेदवार भएपछि अधिवेशन हुन नसकेको स्रोतले जनाएको छ ।
अध्यक्षका उम्मेदवार माधव अधिकारीले आफ्नो जित सुनिश्चित भएकाले अन्तिम समयमा आएर अधिवेशन रोकिएको बताए । “मेरो जित सुनिश्चित थियो, मैले जित्ने भयो भनेर अत्तालिएपछि अधिवेशन नै रोकियो,” उनले भने, “अब १५ गते बैठक बसेर अधिवेशनको मिति तोक्ने भनेका छन् ।”
विद्यालयका निवर्तमान अध्यक्ष सूर्यभक्त अधिकारीले निर्वाचन रोकिनु लज्जास्पद भएको बताए ।
यता व्यास नगरपालिका शिक्षा शाखाले भने अभिभावकलाई परिचयपत्र वितरण गरेपछि मात्र अधिवेशन गरिने बताएको छ । व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले मतदान गर्दा परिचयपत्र आवश्यक पर्ने भएपछि केही समयका लागि अधिवेशन रोकिएको बताए ।