दुलेगौँडा : एकै दिन तनहुँका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार सोमबार तनहुँका दुई संक्रमितको मृत्यु भएको हो ।
निर्देशनालयले मंगलबार दिउँसो पछिल्लो २४ घण्टाको विवरण विज्ञप्तीमार्फत सार्वजनिक गर्दै जानकारी दिएको हो । मृत्यु हुनेमा शुक्लागण्डकी र व्यास नगरपालिकाका एक÷एक जना रहेका छन् । शुक्लागण्डकी नगरपालिका–१० कि १७ बर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई शनिबार कोरोना पुष्टी भएको थियो ।
यस्तै, व्यास नगरपालिका–४ का ६७ बर्षीय पुरुषको पनि स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनलाई आईतबार कोरोना पुष्टी भएको थियो ।
योसँगै तनहुँमा कोरोनाले १५१ जनाको ज्यान लिएको छ । दोस्रो लहर सुरु भएपछि मात्रै १२६ जनाले ज्यान गुमाएका हुन् । मंगलबार तनहुँका तीन जनालाई कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ । १४ जनाको कोरोना परिक्षण गरिएको थियो । हाल तनहुँमा ३३ जना सक्रिय संक्रमित रहेका छन् ।