थानीमाई मन्दिरमा ५५ फूलको डोली भित्रियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    थानीमाई मन्दिरमा ५५ फूलको डोली भित्रियो

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०७८, मंगलवार

    दमाैली : तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा कात्तिकको दोस्रो मङ्गलबार आज ५५ फूलको डोली भित्रिएको छ । प्रत्येक वर्ष कात्तिक महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् ।

    कात्तिकको दोस्रो मङ्गलबार ५५ फूलको डोली भित्रिएको हो । डोलीसँगै करिब पाँच हजार भक्तजनले मन्दिरमा पूजाअर्चना गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिए । साथै सोमबार राति ७१ जना भक्तजनले जागाराम बसी बत्ती बालेका थिए ।

    कात्तिकको पहिलो मङ्गलबार गत हप्ता १८ फूलको डोली भित्रिएको थियो । कात्तिकको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाले बताए ।

    सोमबार सत्यनारायणको पूजा गरि फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । थानीमाई मन्दिरमा कात्तिकसँगै मङ्सिर र माघ महिनामा समेत भक्तजनको भीड लाग्ने गरेको छ । मन्दिरमा फूलको डोली चढाउन छिमेकी जिल्ला गोरखा, लमजुङ, कास्कीका अलवा चितवन, नवलपरासी र काठमाडौंबाट भक्तजन आउने गरेका छन् । मन्दिरमा साउन महिना, एकादशी र औंशी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

    पछिल्ला वर्षहरूमा थानीमाई जाने नयाँ सडकसमेत खुलेका छन् । सडक खुलेपछि भक्तजनहरूको सङ्ख्या बढ्न थालेको थापाले बताउनुभयो । भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ ।त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ ।

    समुन्द्र सतहबाट एक हजार दुई सय मिटर उचाईमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोट लगायत हिमश्रृङ्खलाका दृश्य देख्न सकिन्छ ।

    विसं २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु ६ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुर्ननिर्माण गरिएको थियो ।

    विसं १८२५ सालबाट यस मन्दिरमा पूजाअर्चना शुरु भएको स्थानीय बताउँछन् । विसं १८२५ सालमा मन्दिर भएको ठाउँमा भोटीनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना शुरु भएको स्थानीयवासीको भनाई छ ।