शिक्षक सरुवा र नियुक्तिमा नगर प्रमुखको मनपरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शिक्षक सरुवा र नियुक्तिमा नगर प्रमुखको मनपरी

    खबरपुञ्ज संवाददाता

    १० कार्तिक २०७८, बुधबार

    तनहुँ : तनहुँ व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले शिक्षक सरुवा र नियुक्ति आफुखुशि गर्ने गरेको पाइएको छ । उनले आफ्ना मान्छेलाई सरुवा र नियुक्ति गर्न शिक्षकको सहमति र जानकारी विना नै सरुवा गरिदिने गरेको पाइएको हो ।


    नगर प्रमुखलाई सहयोग गर्ने, उनी विरुद्ध नवोल्ने र उनको गुणगान गाउने शिक्षकलाई च्याप्ने र उनले भनेको नमान्ने राजनीतिक विमति राख्ने शिक्षलाई सरुवा गर्ने अफ्ठेरोमा पार्ने जस्ता कार्य गरेको शिक्षकहरुको गुनासो छ ।


    त्यस्तै व्यास नगरपालिकाका नगर प्रमुखले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत आफुखुशी दरबन्दी सारेका छन् । शिक्षा विकास तथा समन्वय इकाइलाई जानकारी नै नगराई राहत कोटासँग स्थायी दरबन्दी साटेका छन् ।


    उनले म्याग्दे गाउँपालिकाबाट निमावि तृतीय तहको शिक्षक सहित स्थायी दरबन्दी व्यास नगरपालिकामा ल्याएको र म्याग्दे गाउँपालिकामा काज सरुवा गराई निम्न माध्यामिक तहको राहत कोटा पठाएका छन् । जुन कार्य गर्नका लागि स्थानीय तहलाई यसको अधिकार छैन ।


    यतिमात्रै नभई धेरै शिक्षकहरुले नाम नखुलाउने सर्तमा नगर प्रमुख प्रति गुनासो गरेका छन् । उनीहरुका अनुसार शिक्षकहरुको सहमतिविना जानकारी नै नगरि शिक्षकहरुलाई एक लौटि तरिकाले सरुवा गर्ने गरेका कारण आफूहरु पीडित भएको बताएका छन् ।


    त्यसैगरी नगर प्रमुख वैकुण्ठ न्यौपानेले माध्यामिक तहको द्वितीय शिक्षक हुँदा हुँदै प्रधानाध्यापकमा नियुक्ति नगरि निम्न माध्यामिक प्रथम तहको शिक्षक आफ्नै भतिज सन्तोष न्यौपानेलाई नियम विपरित प्रधानाध्यापकमा नियुक्ति गरेको तत्कालिन प्रधानाध्यापक कृष्ण गैरेले बताएका छन् ।


    उनले क्यामिन माध्यामिक विद्यालयमा प्रतिशोध कै कारण पाँच वर्षको कार्यकाल पूपा भएपछि पुन:नियुक्ति नगरि निम्न माध्यामिक प्रथम तहका शिक्षकलाई विभिन्न वाहाना देखाउदै प्रधानाध्यापकमा नियुक्ति गरेको बताए । उनले भने “म मात्र होइन व्यास नगरपालिकामा धेरै शिक्षकहरु नगर प्रमुखबाट प्रताडित भएका छन् ।”


    यसबारे नगर प्रमुख बैकुण्ठ न्यौपानेलाई खबर एजुकेशन बहसमा समेत प्रश्न गरिएको थियो । न्यौपानेले कृष्ण गैरे असक्षम भएका र उनी भन्दा राम्रो धेरै पढेका शिक्षक भएका कारणले गैरेलाई सरुवा गरेर अर्को शिक्षकलाई प्रधानाध्यापकमा नियुक्ति गरिएको बताएका थिए ।


    यस्तो छ शिक्षक कृष्ण गैरेको भनाई
    क्यामिन माध्यामिक विद्यालयमा म प्रधानाध्यापक हुँदै गर्दा मेरो पाँच वर्षको कार्यकाल पुरा भए पनि प्रकृया अनुसार नै फेरी प्रधानाध्यापक नियुक्तिमा दरखास्त हाले । त्यसमा मेरो र अर्को एक जना शिक्षक को दरखास्त प¥यो । मेरो मावि द्धितीय तहको थियो भने अर्को शिक्षकको निम्न माध्यामिक प्रथम तहको दरखास्त थियो । पछि विद्यालय व्यावस्थापन समितिले मेरो फाईललाई भन्दा निम्न माध्यामिक प्रथम तहका शिक्षकको फाइललाई छनोट ग¥यो । यसबारे मैले नगरपालिकामा आएर सोध पुछ गरे छनोट प्रक्रियाबारे विरोध जनाए त्यसपछि तत्कालिन शिक्षा शाखाले यो हुँदैन नियमले यस्तो गर्न दिदैन भने पछि नगरपालिकाले त्यसलाई रद्ध ग¥यो ।


    त्यस लगतै मलाई हटाएर निमित्त प्रधानाध्यापक भनेर अर्को शिक्षकलाई राखियो । निमित्त प्रधानाध्यापकले सात दिन भित्रमा विद्यालयका लागि पुन : विज्ञापन खोल्नु भयो । त्यसमा पनि मैले प्रधानाध्यापकका लागि दरखास्त हाले तर त्यो दरखास्त दर्ता गरिए पनि पछि बैठक बसेर निवेदन पुगेन भन्दै अर्को सरलाई राख्ने निर्णय ग¥यो । मैले सबै प्रक्रिया पुरा गरेर दर्ता गर्दा पनि निवेदन पुगेन भन्दै नियतबस मलाई प्रधानाध्यापकमा नियुक्ति नगर्ने नियतले अरुलाई नै राखियो । यस पछि मैले नगरपालिकामा आएर नगर प्रमुखसँग विद्यालयमा मलाई यस्तो यस्तो गरियो भनेर कुरा राखे । तैले कोहि आफ्नो मान्छे बनाएको रैन्छस, तेरा मान्छे कोहि छैनन् भन्दै जवाफ दिएर नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले जवाफ दिनु भयो । पछि आफ्नै भतिजलाई विद्यालयमा नियुत्ति गर्नु भयो ।


    अहिले क्यामिन विद्यालयमा भएका प्रधानाध्यापक नगर प्रमुख बैकुण्ठ न्यौपानेका आफ्नै भतिज सन्तोष न्यौपाने हुन् । यो सबै भए पछि मैले शिक्षा ऐनमा माध्यामिक तहको मात्र प्रधानाध्यापक हुने प्रावधान भएका कारण मुद्धामा जाने निर्णय गरे । व्यास नगरपालिकाले दुईवटा अर्थ लाग्ने र आफु अनुकुलको विनियम बनाएको र त्यसै अनुरुप गरिएको भन्ने नगर प्रमुखले बताउनु भयो । यसबारे मैले लिखित जवाफ मागे तर नगर प्रमुखले लिखित जवाफ दिन सक्नु भएन ।


    यसपछि मलाई लगतै क्यामिन विद्यालयबाट बालमन्दिर विद्यालयमा सरुवा गरियो । बालमन्दिर विद्यालयमा पनि प्रधानाध्यापकका लागि मेरो मात्रै योग्यता पुगको र समिति र विद्यालय तयार हुँदा हुँदै नगर प्रमुखले कुनै पनि हालतमा मलाई बन्न दिनु भएन । यति भएपछि बालमन्दिर विद्यालयमा प्रधानाध्यापकका लागि अर्को मावि शिक्षकलाई सरुवा गरेर ल्याइयो र मलाई त्याहाबाट फेरि विना कारण विना जानकारी मेरो सहमति विना नगर प्रमुखले आफु खुशि सत्यवति माविमा सरुवा गरिदिनु भयो ।


    सत्यवति माविमा सरुवा गरे पछि म विद्यालय जान्न भनेर मलाई किन यसरि पटक पटक सरुवा गरिएको हो भन्दै जवाफ खोजे । म जान्न भनेर कुनै पनि पत्र बुझिन र म त्याहि बसे । पछि बाल मन्दिरमा फेरी प्रधानाध्यापकका लागि विज्ञापन खोलियो त्यसमा पनि मैले दरखास्त हाले र नगर प्रमुखले त्यस विद्यालयमा ल्याएको शिक्षकले पनि हाल्नु भयो । अर्को शिक्षक नगर प्रमुखको मान्छे पनि हो ।


    यसमा पनि प्रतिस्पर्धा भयो, व्यवस्थापन समितिले, सिफारिस समितिले, नगर शिक्षा शाखाबाट आएका विज्ञहरुले मेरो नाम सिफारिस गर्नुभयो । तर नगर प्रमुखले यसलाई स्वीकार गर्नु भएन । मेरो फाईलनै फालियो । दुई पटक सम्म मेरो सिफारिसलाई स्वीकार नगरे पछि प्राथमिक तहको प्रअ दिने र सबै विद्यालय हेर्ने भन्ने सहमतिमा भयो र मैले प्रधानाध्यापकबाट पनि राजिनमा दिए । तर त्यसरि सहमति भएर मैले राजिनमा दिइसके पछि पनि फेरी मलाई अर्को विद्यालय वाराही मावि फराक चौरमा सरुवा गरियो ।


    म वाराही मावि फराक चौरमा गैन मलाई धेरै मानसिक तनाव दिइयो,टर्चर दिइयो । म त्याहा जानु भन्दा बरु राजिनामा दिन्छु भनेर राजिनामा दिए । नगर प्रमुखले अनावश्यक रुपमा शिक्षकलाई असक्षम भन्दै आरोप लगाउने शिक्षकहरुलाई अपमान गर्ने र आफ्ना मान्छे जस्ले नगर प्रमुखको गुनगान गाउने , जि हजुर गर्नेहरुलाई सरुवा गर्ने नियुक्ति गर्ने जस्ता काम आफुखुशि गर्नु भएको छ ।


    नगर प्रमुखले मलाई मात्र हैन धेरै शिक्षकलाई प्रताडित बनाउनु भएको छ । कति शिक्षकहरुले बाहिर भन्न सक्नु भएको छैन । मेरो विषयमा शिक्षक संघ संगठनहरु पनि डेलिकेसन गए पनि नगर प्रमुखले नगर शिक्षा समितिले गरेको निर्णय हो भन्दै तर्किने गर्नु भएको छ । निर्णय आफु खुशि गर्ने र नगर शिक्षा समितिको टाउकोमा हाल्दै उम्किने गर्नु हुन्छ ।

    पछिल्लो समय तनहुँमा शिक्षक सरुवा र नियुक्तिका विषयमा विभिन्न समाचारहरु प्रकाशित भइरहेका छन् । सरुवाका नाममा शिक्षकहरुलाई दुःख दिने र सामजिक सञ्जाल फेसबुकमार्फत महिला शिक्षकलाई सरुवा प्रक्रिया मिलाईदिने आश्वासन दिएर यौन प्रस्ताव राख्ने जस्ता विषय अहिले झन पेचिलो बन्दै गएको छ । (खबरएजुकेशन डटकम)

    स्रोत : https://khabareducation.com/9741/?fbclid=IwAR1HHkySkqs7HLigndIeZi48A_1Wh3ybbcbk_zDpDlwh5qupF3AwAnkI0aQ