दुलेगाैडा : शुक्लागण्डकी जेसीजको सप्ताह कार्यक्रम मंगलबार सुरु भएको छ । वार्षिक योजना अनुसार शुक्लागण्डकी जेसीजले शुक्लागण्डकी नगरपालिका–९ बाजस्थलमा रहेको प्रसिद्ध धार्मिकस्थल ढोरवाराही मन्दिरबाट जेसीज सप्ताह कार्यक्रम सुरु गरेको हो ।
सप्ताहको अवसर पारेर जेसीज ढोरवाराही मन्दिरलाई पाँच थान फोहोर संकलनका लागि डस्टविन र दुई वटा गमलामा धुपीको विरुवा हस्तान्तरण गरेको छ । शुक्लागण्डकी जेसीजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले मन्दिरका पुजारी चिरञ्जिवी लम्साललाई डस्टविन हस्तानतरण गरे ।
सो अवसरमा बोल्दै वडाध्यक्ष श्रेष्ठले मन्दिरमा डस्टविनले फोहोर मैला व्यवस्थापनमा सघाउने बताए । जेसीजले समुदायको हितमा काम गरिरहेको बताउँदै आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्ने उनको भनाई छ ।
शुक्लागण्डकी जेसीजका अध्यक्ष श्रेष्ठले मन्दिर क्षेत्र धार्मिक आस्थाको केन्द्र भएकाले सरसफाईमा जोड दिनुपर्ने उल्लेख गरे । मन्दिरको प्रर्बद्धनमा जेसिजले भुमिका खेल्ने उनको भनाई छ ।
कार्यक्रममा शुक्लागण्डकी जेसिजका पुर्व अध्यक्ष नवराज लामिछाने, विनोद राउत, मदन श्रेष्ठ, जेसिजको वर्तमान कार्यकारिणी उपाध्यक्ष एवम जेसिज सप्ताहका संयोजक रमेश भण्डारी, कार्यकारिणी उपाध्यक्ष दिपेन्द्र रिमाल, महासचिव अनिष ढकाल, कानुनी सल्लाहाकार शिवबहादुर विक लगायतले बोलेका थिए ।
मंगलबार नै शुक्लागण्डकी जेसिजले विद्यार्थीलाई शैक्षिक सामाग्री समेत वितरण गरेको छ । शुक्लागण्डकी नगरपालिका–८ मुस्ताङ वस्तीस्थित दुर्गा प्राविका ३५ जना विद्यार्थीलाई कापी कलम लगायतका सामाग्री वितरण गरिएको जेसिज सप्ताह कार्यक्रमका मुल संयोजक रमेश भण्डारीले जानकारी दिए । सरसफाईका लागि विद्यालयलाई दुई थान डस्विन पनि हस्तानतरण गरिएको छ ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले रचनात्मक कार्यमा युवा अग्रसर हुनुपर्ने बताए । यो विद्यालयमा बढी श्रमिकका छोराछोरी पढ्ने गर्दछन् । शैक्षिक सामाग्री सहयोग पाउँदा विद्यार्थीलाई पढाईमा प्रेरणा मिल्ने बताउँदै विद्यालयका प्रधानध्यापक टंक सुवेदीले सहयोगप्रति आभार व्यक्त गरे । सो कार्यक्रममा शुक्लागण्डकी जेसिजका पुर्व अध्यक्ष दुर्गा सिग्देल, शुक्लागण्डकी जेसिजका उपाध्यक्ष सुरज लम्साल लगायतले बोलेका थिए ।
यस्तै, मंगलबार नै जेसिज सप्ताह अन्तर्गत विरामीलाई उपचारका लागि आर्थिक सहयोग गरिएको छ । दैलेख घर भई दुलेगौँडामा डेरा गरी बस्ने शान्ता र तपेन्द्र विकको दुई महिने छोरा प्रकाशको उपचारमा आर्थिक सहयोग गरिएको हो । प्रकाशको पिसाब नली साँघुरो भएको कारण मृगौला सुन्निएको छ । आर्थिक अभावका कारण उपचार गर्न समस्या भएपछि आर्थिक संकलन अभियान थालिएको छ । र अहिले उपचार गर्न काठमाडौँस्थित कान्ति वाल अस्पतालमा लगिएको छ । उपचारमा हाल १० हजार रुपैयाँ सहयोग गरिएको र नपुग भए सहयोग गर्ने जेसिजले प्रतिबद्धता समेत जनाएको छ ।
शुक्लागण्डकी जेसिज अन्तर्गत बुधबार शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा डस्बिन वितरण गरिनेछ । जेसिज सप्ताहको समापन कार्यक्रम च्यवनधाममै गरिनेछ । बुधबार बेलुका जेसिज संगम कार्यक्रम गर्दैै यस बर्षको जेसिज सप्ताह सकिने जनाईएको छ । शुक्लागण्डकी जेसिज यस क्षेत्रमा युवाको नेतृत्व तथा व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा अग्रसर संस्था हो ।