वैदेशिक रोजगार कार्यालयमा श्रममन्त्रीको छड्के
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वैदेशिक रोजगार कार्यालयमा श्रममन्त्रीको छड्के

    खबरपुञ्ज संवाददाता

    १ मंसिर २०७८, बिहीबार

    काठमाडौं : बुधबार बिहान ठीक साढे १० बज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) एकाएक वैदेशिक रोजगार कार्यालय ताहाचलमा छड्के अनुगमनमा निस्किए । मन्त्री कार्यालयमा पुग्दा अधिकांश कर्मचारी कार्यालय पुगेका थिएनन् । पुगेका कर्मचारीमध्ये पनि काम गरिरहेका थिएनन् । तर, बाहिर सेवाग्राही भने लाइनमा तछाडमछाड गर्दै थिए ।

    कार्यालयवित्तिकै मन्त्री श्रेष्ठ कार्यालयका विभिन्न कक्ष तथा काउण्टरमा पुगे । कर्मचारीले आ–आफ्नो ठाउँमा उठ्दै नमस्कार गर्न थाले । कतिपयले मन्त्री हो भन्ने भेउसमेत पाएनन् भने कतिपय काम गर्न थाले जस्तो गर्न थाले । कार्यालयका उच्च पदस्थ कर्मचारी भने मन्त्री आएको थाहा पाउनेवित्तिकै आफ्नो काम छोडेर मन्त्रीको पछि दर्गुन थाले ।

    मन्त्री श्रेष्ठ श्रम स्वीकृति लिने ठाउँमा पुगे । मन्त्री पुग्नेवित्तिकै कार्यालयमा निर्देशक राजेश उप्रेतीले मन्त्री श्रेष्ठलाई हरेक शाखा तथा काउण्टरका बारेमा जानकारी गराउँदै सहजीकरण गर्न थाले ।

    यसैबीचमा मन्त्री श्रेठ बाहिर मुलुकबाट र अन्य ठाउँबाट इमेल प्राप्त गर्ने कक्षमा पुगे । कार्यालका कर्मचारी राजेश उप्रेतीलाई प्रश्न गर्दै मन्त्री श्रेठले भने, ‘यो एउटा कम्प्युटर मात्रै हो इमेल प्राप्त गर्ने ?

    उप्रेतीले जवाफमा भने, ‘हो एउटा मात्रै हो ।’ मन्त्रीले प्रतिप्रश्न गर्दै सोधे, ‘यसलाई दुई–तीन वटा बनाउन सकिँदैन ।’

    कर्मचारीले जवाफ दिँदै भने, ‘अहिले त्यस्तो धेरै समस्या छैन । सात सयदेखि आठ सय जनाको काम हामीले भ्याउने गरेका छौ । बरु यसमा दुईदेखि तीनजना कम्युटर अपरेटर थप्न पाएको भए सजिलो हुन्थ्यो । नायव सुब्बा र अधिकृतमा कुनै समस्या छैन ।’

    त्यति नै बेला बैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्ले पनि आत्तिदै मन्त्रीको नजिक आइपुगे । उनी मन्त्री आउनुभन्दा अघि नै वैदेशिक रोजगार विभाग बबरमहल नपुगेर वैदेशिक रोजगार कार्यालय ताहाचल पुगेका रहेछन् ।

    मन्त्री आउनुअघि नै उनले सबै कर्मचारीलाई बिहानै बोलाएर नियमित बिूफिङ लिएर फर्किदै थिए, तर मन्त्रीको गाडी कार्यालयको प्राङ्गणमा देखेपछि आत्तिदँै फर्किएका रहेछन् । जुन कुरा उनले त्यहाँ पुग्नेवित्तिकै मन्त्रीलाई पनि जानकारी गराए ।

    त्यसपछि मन्त्रीसँगै महानिर्देशक पनि पछि पछि लागे । त्यसपछि मन्त्री श्रेष्ठ सेवाग्राही कहाँ पुगे । जहाँ सेवाग्राहीको नयाँ तथा पुन श्रम स्वीकृति लिनेको भीड थियो । उनले सेवाग्राही कहाँ पुग्नेवित्तिकै मुखमा लगाएको मास्क फुकाल्दै प्रश्न गरे, ‘तपाईँलाई के गरिदिए हुन्थ्यो भन्ने लागेको छ ?’ अनि एउटा सेवाग्राहीसँग पनि सोधे, ‘तपाईँ कहिले आउनुभएको हो ?’

    ती सेवाग्राीले जवाफ दिदैँ भने, ‘म हिजो आएको हो । मेरो पर्सिको उडान छ, बिहान नौ बजेको । अहिलेसम्म लाइनमा नै छु । श्रम स्वीकृति पाएको छैन । हामीले दुख किन पाइरहेका छौ यहाँ । हाम्रो नेपालमा किन हुन्छ सर यस्तो ? अझै मेरो पीसीआर चेक गर्न बाँकी नै छ ।’

    श्रममन्त्री श्रेष्ठले जवाफ दिदैँ भने, ‘यस्तो कार्यालय यहाँ मात्र होइन, सात वटै प्रदेशमा पनि छ । त्यहाँबाट पनि तपाईंले सेवा लिन सक्नुहुन्छ नि त । त्यताबाट गर्दा के समस्या भएको हो ?’

    सेवाग्राहीले जवाफ दिदैँ भने, ‘अनलाईन सेवा भनेपछि ढुक्क भएर बसियो । त्यसैले अनलाइनबाट टोकन लिएर सिधै जाने बेला आएको हो । यहाँ आएर त बर्बाद हुने भयो ।’

    मन्त्री श्रेष्ठले विभागका महानिर्देशक दिपक काफ्लेलाई अगाडि बोलाए । सेवाग्राही भन्दै थिए, ‘जम्मा एक दिनमा पाँच सय जनाले मात्र रे टोकन पाउने ।’ मन्त्री श्रेष्ठले विभागका महानिर्देशकलाई प्रश्न गर्दै भने, ‘अहिले कति हो टोकन बाँड्ने गरेको ?

    कार्यालयका कर्मचारी राजेश उप्रेतीले नजिकै आएर जवाफ दिँदै भने, ‘अहिले चार सय हो मन्त्री ज्यू ।’ एक महिला सेवाग्राहीले प्रश्न गर्दै भनिन्, ‘मैले हिजोदेखि प्रयास गरेको बल्ल बल्ल अहिले नौ बजेर ५० मिनेटमा टोकन पाएको । अहिलेसम्म केही पनि काम भएको छैन । टोकन पाएर मात्र के गर्नु ।’

    सुरुमा मन्त्रीले जुन सेवाग्राहीलाई प्रश्न गरेका थिए, उनैले प्रश्न गर्दै भने, ‘हेर्नुस सर । म बिदामा आएको हो । मेरो पर्सि टिकट छ । यताबाट कहिले नाम मिलेन भनेको छ । कहिले के मिलेन भनेको छ । त्यहि पुरानै कम्पनीमा जाने हो । त्यहि पुरानै काम गर्ने हो । फेरि पनि यस्तो झन्झट किन ?’

    अर्को महिला सेवाग्राहीले मन्त्रीको अगाडि आएर प्रश्न गरिन्, ‘हेर्नुस् अब म यही श्रम गर्नका लागि यो कार्यालय धाएको तीन दिन भइसक्यो । अहिलेसम्म काम हुन सकेको छैन । मेरो पर्सिको उडान छ । मैले के गर्ने ?’

    अर्को सेवाग्राहीले एउटा कार्ड मन्त्रीलाई थमाउदैँ भने, ‘म कतार जाने मान्छे । मलाई यो कार्ड भएपछि अरु केही पनि चाहिँदैन । यहाँ अहिले एग्रिमेन्ट लेटर चाहियो रे, के चाहियो रे, सही गरेको पेपर चाहियो रे ।’

    मन्त्री श्रेष्ठले सेवाग्राहीको कार्डलाई घुमाइफिराई हेरे । सेवाग्राही झन् आक्रोशित हुँदै भन्दै थिए, ‘मलाई कतार जानलाई अरु केही चाहिदैँन यति भए पुग्छ सर । हामी आफ्नो खुसीले जादैछौं त । यसमा किन झन्झट बनाउनुपर्यो ।’ मन्त्रीले टाउको मात्र हल्लाए, केही जवाफ दिन सकेनन् ।

    सुरुमा मन्त्रीले जुन सेवाग्राहीलाई प्रश्न गरेका थिए, उनले मन्त्रीको तारिफ गर्दै भने, ‘हजुरले काम गरेको सुनेर विदेशमा पनि एकदमै खुसी लागेको थियो । अहिले भेट भयो झन् खुसी लाग्यो । यो सिस्टम अलिकति चेन्ज गर्नुपर्यो सर । हुन त म यहाँ सिकाउन आएको होइन । म भन्दा जान्ने नै हुनुहुन्छ ।’ मन्त्रीले रोक्दै भने, ‘होइन, होइन, यो विषयमा म होइन, कि तपाई विज्ञ हुनुहुन्छ । यहाँको कर्मचारीलाई भन्दा तपाईंलाई बढी जानकारी छ ।’

    त्यसपछि ती सेवाग्राहीले भन्न थाले, ‘हामीले अनलाइन फाराम जहाँ भरेपनि केहि समस्या छैन । अनलाइन बैंकिङ प्रणाली बनाइदिनुस् । पैसा तिरेको पेपर लिएर आउछौँ, देखाउँछौ । फारम बाहिरबाट प्रिन्ट गरेर ल्याउछौं । अनि छाप लगाएर फटाफट पठाउने सिस्टम बनाउन मिल्दैन ? कति सजिलो हुन्छ ।’

    त्यसपछि मन्त्री श्रेष्ठले विभागका महानिर्देशकलाई निर्देशन दिँदै भने, ‘सुन्नुस् डिजी सा’प । आज के–के नीतिगत रुपमा सुधार गर्नु छ म कहाँ ल्याउनुुस् । अनि टोकन नपाएकै कारण कसैको पनि उडान छुट्नु हुँदैन । आज तपाईंहरु ओभर टाइम गरेर हुन्छ कि टोकन खोलेर हुन्छ के हुन्छ कहाँनेर समस्या हो, मन्त्रालयमा सचिवसँग बसेर पनि छलफल गरौंला । तर, यहाँ आएका कसैको पनि टोकन नपाउने अवस्था आउनु हुँदैन ।’

    मन्त्रीले यति भनेपछि लाइनमा बसेका सेवाग्राहीले ताली बजाए । त्यसपछि मन्त्री फेरि हौसिदै भन्न थाले, ‘म पनि तपाईंहरुकै तहबाट यो ठाउँमा आइपुगेको हो । तपाईंहरुलाई त्रिभुवन विमानस्थलमा पनि दुख नहोस् भनेर हिजो मात्रै पर्यटन मन्त्रीसँग कुराकानी गरेको छु । जसरी जाँदा तपाईंहरु कामदार भनेर जुन हिसाबले अपहेलना भएको महसुस गर्नुहुन्छ । विमानस्थलमा कर्मचारीको व्यवहारदेखि लिएर आउदाँखेरी पनि जुन दुख पाउनुहुन्छ नि । अब हामी तपाईंहरु जाने बेला पनि र फर्किने बेला पनि रातो कार्पेटमा पठाउने कि भन्ने हिसाबले सोचिरहेका छौं । तर, भन्ने बित्तिकै हुन्छ भन्ने चाहीँ होइन ।’

    लाइनमा रहेकी एक महिला सेवाग्राहीले प्रश्न गर्दैन भनिन्, ‘हामीलाई रातो कार्पेट चाहिँदैन । हाम्रो काम सहजै गरिदिए मात्रै पुग्छ ।’ मन्त्रीले भने, ‘तपाईंहरुले रातो कार्पेट मागेको भनेको होइन, मात्र मैले तपाईंहरुको सम्मानको लागि पो भनेको हो । वैदेशिक रोजगारीमा जानेको सम्मान गर्न खोजेको हो भनेर यसो भनेको ।’

    ती महिलाले मन्त्री श्रेष्ठलाई प्रश्न गर्दै भनिन्, ‘मैले भर्खरै मात्र लाइन बस्दा महिलालाई छुट्टै लाइन बनाइदिनुस् न भनेर कर्मचारीलाई भनेको । महिला र पुरुष एकै हो भन्ने तर महिला लाई छुट्टै किन लाईन चाहियो भन्छन् ?’ त्यति नै बेला मन्त्री श्रेष्ठले कर्मचारीलाई निर्देशन दिँदै भने, ‘यो महिला र पुरुषको लाईन छुट्टाछुट्टै बनाउनुपर्यो । आजै अहिले नै गराइ हाल्नुस् त ।’

    अर्का सेवाग्राहीले मन्त्रीलाई गुनासो सुनाउँदै भने, ‘म दुईं घण्टा लाइनमा बसिसके । तर १० बज्दा पनि कार्यालयको ढोका खुल्दैन । हाम्रा लागि समय भनेको पैसा हो । त्यसैले यसरी हाम्रो समय बर्बाद गर्न मिल्दैन ।’

    मन्त्री श्रेष्ठले सम्झाउदैँ भने, ‘म तपाईंकै समस्या के छ भनेर बुझ्न र समाधान गर्न आएको हुँ । यसलाई व्यवस्थित गर्न नै म लागेको हो । त्यसैले यहाँहरुले मलाई अरु कुनै समस्या भए पनि सुझाव दिनुस् ।’

    एक सेवाग्राहीले गुनासो गर्दै भने, ‘म जनकपुरबाट आएको हो सर । चार दिनसम्म त्यहाँ बसेर पनि काम नभएपछि म यहाँ आएको हुँ ।’ अर्कोले फेरि प्रश्न गर्दै भने, ‘म पनि बुटवलबाट आएको हो सर । त्यहाँ यति धेरै हेलचक्राई गरिरहेको छ कि हाम्रो काम गर्दैनन् त्यहाँको कर्मचारीले ।’

    मन्त्री श्रेष्ठले औंला ठड्याउँदै भने, ‘ठीक छ, म त्यो समस्या पनि समाधान गर्छु । मसँग पनि ठ्याक्कै जादुको छडी त छैन तर, केही दिनमा म श्रम स्वीकृति लिने प्रक्रियाको झन्झट हटाउँछु । नयाँ श्रम स्वीकृति पनि सात वटै प्रदेशबाट गर्ने व्यवस्था म गर्छु । त्यसका लागि कर्मचारीको व्यवस्थापन गर्नुपर्यो । प्रविधिको व्यवस्थापन गर्नुपर्यो । केही दिनमा श्रममन्त्रीले केही न केही नयाँ काम गर्यो भन्ने तपाईहरुले सुन्नुहुन्छ ।’

    यति भन्दै मन्त्री श्रेष्ठले सेवाग्राहीसँग बिदा मागे ।

    त्यसपछि मन्त्री कार्यालयका एक कक्षमा पुगे । त्यहाँ पुगेर उनले भीडलाई यता व्यवस्थापन गर्न सकिँदैन भन्दै कर्मचारीसँग प्रश्न गरे । कर्मचारीले सकिन्छ भन्ने बचन दिए । मन्त्रीले फेरिँ निर्देशन दिँदै भने, ‘देखिने गरी यो काम गरौ त । म चिया खाएर फर्किन्जेलसम्म यो काम सकौं त ।’

    कार्यालयका कर्मचारीले ५० प्रतिशत सेवाग्राहीले आफ्नो फाराम आफैंले भर्न नजान्ने गरेको मन्त्रीलाई जानकारी गराए । त्यसपछि प मन्त्री श्रेष्ठले फारम भर्न नजान्नेहरुको सहयोग चाहिनेका लागि हेल्प डेस्क राख्न निर्देशन दिए । उनले भने, ‘हेल्प डेस्क राख्न सकिन्छ होला नि । जो कम्प्युटर पनि जान्दैनन् । भाषा पनि जान्दैनन्, त्यस्तालाई सहयोग गर्नका लागि ?’ मन्त्रीले सोच्दै भने, ‘हेल्प डेस्क बनाउने ठाउँ कहाँ सहज होला ।’

    त्यसपछि मन्त्री गेटबाट बाहिरिए । बाहिर निस्किदै गर्दा मन्त्रीले कर्मचारीलाई अनलाईन फारम भर्ने ठाउँ सोधे । कर्मचारीले देखाए । मन्त्री श्रेष्ठले सोधे, ‘तपाईंहरु के के गर्नुहुन्छ यहाँ ?’

    त्यहाँका सञ्चालकले जवाफ दिँदै भने, ‘हामी फाराम भर्छौ, सवै विवरण हाल्छौ ।’

    ‘फारम भरेबापत कति रुपैयाँ लिनुहुन्छ ?’

    ‘तीन सय रुपैयाँ लिन्छौं ।’

    त्यसपछि मन्त्री वैदेशिक रोजगार कार्यालयमा छिरे । कर्मचारीसँग जानकारी लिए । कार्यालयका कर्मचारी राजेश उप्रेतीले मन्त्रीलाई जानकारी गराउँदै भने, ‘हामीले हरेक सेवाग्राही आफैंले अनलाइनबाट टोकन लिउन् भनेर अनलाइन व्यवस्था गरेका हौं । तर, के गर्नु आफैं गर्दैनन् । ताहाचल आएर बाहिर रहेका पसलबाट गर्न खोज्छन् । हरेक पसलेसँग पासपोर्टको ठेली छ । उसको भिसा छ, आइडी कार्ड छ, एकचोटि विदेश गइसकेको व्यक्तिलाई किन दुख दिनु ?’

    कर्मचारी राजेश उप्रेतीले बोल्नका लागि माइक राखेको जानकारी गराए । मन्त्री श्रेष्ठले प्रश्न गर्दै भने, ‘के भनेर बोल्नुहुन्छ ?’ कर्मचारीले जवाफ दिँदै भने । ‘तपाईंको समस्या के छ, ल आउनुस भन्ने हो ।’ मन्त्री श्रेष्ठले ती कर्मचारीले निर्देशन दिए, ‘आजको सबै काम हुन्छ । आज टोकन थपिन्छ भन्नु त ।’

    कर्मचारीले माइकमा बोल्दै भने, ‘नौ बजेसम्म टोकन नपाउनुभएका साथीभाइले भीड हेरेर अहिले १२ बजे एक सयदेखि डेढ सय अथवा दुई सयसम्म भरे बेलुकाको उडान भएका र भोलि दिउँसोसम्म फ्लाइट हुनेहरुलाई टोकन खोलिन्छ । तपाईहरु धैर्यधारण गर्नुहोला । आफ्नै मोबाइल तथा कम्प्युटरबाट टोकन लिनुहोला ।’

    त्यसपछि मन्त्री श्रेष्ठले उच्च तहका सबै कर्मचारीलाई बैठक कक्षमा बोलाएर निर्देशन दिए । ‘कुनै कार्यविधि, नियमावलीमा समस्या छ भने भन्नुस् र वास्तविक पीडितको समस्या समाधान कसरी हुन्छ भन्नुस्, म त्यो गर्न तयार छु ।’

    वैदेशिक रोजगार विभागका निर्देशक समेत रहेका सूचना प्रविधि शाखा प्रमुख श्रीचन्द्र शाहले जवाफ भने, ‘यो अनलाइन प्रणालीले कसैलाई पनि चिन्दैन । बदमासी नहोस् भनेर यो ल्याएको हो । यसमा धेरै परिवर्तन गर्न पनि जरुरी छैन । यस प्रणालीलाई चलाउनका लागि कर्मचारी राख्ने हो भनेर यसलाई नियन्त्रण गर्ने हो भने व्यवस्थापन हुन्छ ।’

    मन्त्रीले भने, ‘उनीहरुलाई काम लगाउनका लागि काउण्टर थप गरौं । महिला र पुरुषको लाइन पनि छुट्याउन पर्यो । महिला पुरुष समान भए पनि उनीहरुलाई बराबर सेवा दिनका लागि दुईवटा लाइन बनाउनुस् । हेल्प डेस्कको व्यवस्था पनि जरुरी छ । अर्को कुरा आजदेखि एक हजार टोकन छोड्नुस् । केही समस्या भए मकहाँ आउनुस् । म तत्काल समाधान गर्न तयार छु ।’

    यति भनेर मन्त्री कार्यालयबाट बाहिरिए । (नेपाल प्रेसबाट)