म्याग्देमा विद्युतीय कर भुक्तानी सेवा सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देमा विद्युतीय कर भुक्तानी सेवा सुरु

    खबरपुञ्ज संवाददाता

    १९ मंसिर २०७८, सोमबार

    दमाैली : तनहुँको म्याग्दे गाउँपालिकाले विद्युतीय कर भुक्तानी सेवा सुरु गरेको छ । गाउँपालिकाको सेवा प्रविधिमैत्री बनाउने उद्देश्यसहित कर भुक्तानी विद्युतीय माध्यमबाट तिर्न सकिने व्यवस्था सुरु गरिएको हो ।

    सोमबार उक्त सेवाको शुभारम्भ गर्दै गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले यसले सर्वसाधारणलाई सहज हुने विश्वास व्यक्त गरिन् । कर तिर्नका लागि कार्यालयमै आउनुपर्ने बाध्यताको अन्त्यका लागि सेवा सुरु गरिएको भन्दै रानाले गाउँपालिकालाई प्रविधिमैत्री बनाउने प्रयास थालिएको बताइन् ।

    विद्युतीय कर भुक्तानी सेवा सुरु भएपछि सर्वसाधारणले घरमै बसी बसी कर तिर्न सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिए । “यो सेवाले गाउँपालिकालाई प्रविधिमैत्री बनाउन सहयोग पुगेको छ भने सर्वसाधारण पनि कर तिर्नका लागि अब कार्यालय आउनुपरेन,” उनले भने, “काम विशेषले जिल्लाबाहिर गएकाहरुले पनि अनलाइनबाट भुक्तानी गर्न सक्छन् ।”

    उनका अनुसार सम्पत्ति तथा भूमि कर अनलाइनमार्फत् भुक्तानी गर्न सकिन्छ । खल्ती, आइएमई पे, कनेक्ट आइपिएस र प्रभुपे मार्फत् रकम भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको छ ।

    गाउँपालिकाले म्याग्दे गाउँपालिका करदाता पोर्टल समेत निर्माण गरेको छ । कार्यालयको कर सङ्कलन प्रणाली सफ्टवेयरमा करदाताको रुपमा दर्ता भई सो सफ्टवेयरले जेनेरेट गरेको आधिकारि आठ अङ्कको करदाता सङ्केत नम्बर प्राप्त गरिसकेपछि मात्र कर पोर्टलमा इन्टरनेटकोा पहुँचबाट आधिकारिक विवरण राखी विवरण हेर्न र कर भुक्तानी गर्न सकिन्छ ।