दमाैली : तनहुँको भिमाद नगरपालिका–५ स्थित मिछुर्लुङमा भ्युटावर निर्माण हुने भएको छ । देश तथा विदेशमा रहेका नेपालीहरुबाट सङ्कलन गरिएको रकमबाट भ्युटावर निर्माण गर्न लागिएको हो ।
भ्युटावरको सोमबार शिलान्यास गर्दै भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले यसले मिर्छुलुङको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताए । “गाउँमा होमस्टे सञ्चालन छ, होमस्टेमा आउने पर्यटकलाई भ्युटावरबाट प्राकृतिक दृश्यावलोकन गराउन सके यहाँको थप प्रबद्र्धन हुन्छ,“ उनले भने । पर्यटन प्रर्वद्धन गरी स्थानीयको आयआर्जनमा वृद्धि हुन सके मात्र भ्युटावर निर्माणको औचित्य रहेको उनको भनाई छ ।
नेपाली काङ्ग्रेसका जिल्ला सभापति जितप्रकाश आलेले नेपालको समृद्धिको आधार नै पर्यटन भएको बताउँदै कोभिडले थलिएको पर्यटन व्यवसाय विस्तार लयमा जान थालेकाले पूर्वाधार निर्माण हुन सुखद रहेको बताए ।
म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले मिछुर्लुङ सुन्दर बस्ती मात्र नभई मगर समुदायको संस्कृतिमा धनी गाउँ समेत भएको बताउँदै भनिन्, “संस्कृति प्रदर्शन गरेर पर्यटकलाई आर्कषण गर्न सकिन्छ ।”
घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले भिमाद र घिरिङलाई जोडेर समग्र पर्यटन प्रर्वद्धन गर्न सहकार्य गर्ने बताए । “गाउँबाट भागेका मनलाई गाउँमा ल्याउन आवश्यक छ, त्यसको मुख्य आधार ग्रामीण पर्यटन हो,” उनले भने ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं काङ्ग्रेस उपसभापति देवकुमार श्रेष्ठले आर्थिक समृद्धिमा नीजि क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताए ।
मिछुर्लङमा जन्मेर हाल बेलायतमा रहेका महेन्द्र आलेको परिकल्पनामा गाउँको पर्यटन प्रर्बद्धन गर्नका लागि भ्युटावर निर्माण गर्न लागिएको मिछुर्लुङ क्षेत्र विकास तथा भ्युटावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले बताए । भ्युटावर निर्माणका लागि देश तथा विदेशमा रहेका नेपालीबाट रु ३० लाख सङ्कलन भएको छ ।
रु ३८ लाख चार हजार नौ सयमा निर्माण हुने भ्युटावरको ठेक्का साराङकोट निर्माण सेवाले पाएको छ । विसं २०७९ वैशाखभित्र भ्युटावर निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।