डुम्रे : तनहुँको बन्दिपुर गाउँपालिका– १ डुम्रे बजारस्थित एक बेकरी उद्योग जिल्ला प्रशासन कार्यालयले बन्द गराएको छ। सोमबार अनुगमनका क्रममा सडेगलेको र अखाद्य वस्तु प्रयोग गरेको भेटिएपछि रजनीश बेकरी उद्योग बन्द गराइएको हो।
उद्योगले व्यवसाय दर्ता समेत नगरी सडेगलेको र अखाद्य वस्तुको प्रयोग गरी बजारमा विक्री वितरण गरेको भेटिएपछि ताला लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
उद्योगको अनुगमन गर्दा उद्योग भित्र सडेगलेको र अखाद्य वस्तुको प्रयोग गर्ने गरिएको भेटिएको थियो ।
चाडपर्वका बेला मात्र अनुगमन हुने गुनासो आएकाले प्रशासनले अन्य समयमा पनि अनुगमनलाई निरन्तरता दिएको बरालले जानकारी दिए ।
उद्योग सञ्चालकलाई प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको छ । “अखाद्य र म्याद गुज्रिएका उपभोग्य वस्तु विक्री हुने अवस्थालाई मध्यनजर गर्दै बजार अनुगमन निरन्तरता दिन्छौ,” उनले भने ।
बरालको नेतृत्वको टोलीले डुम्रेबजारका मिठाई पसल, खाद्यन्न पसल, माछामासु पसल, तरकारी पसल र बीउ बिजन र दाना पसलहरुको अनुगमन गरेको थियो।
बजार अनुगमनको क्रममा कानुनी रुपमा दर्ता नगरी व्यवसाय संचालन गरिएको, दर्ता नविकरण नगरिएको, म्याद गुज्रिएको उपभोग्य वस्तु विक्री योग्य वस्तुसँगै राखिएको, लेवल नराखिएको, बीउ बिजन र विषादी पसल एउटै ठाउँमा राखी विक्री गर्ने गरिएको, अशुद्ध तेलमा खानेकुरा पकाई बिक्री गर्ने गरिएको भेटिएको थियो ।
मिठाई पसलमा पनि सरसफाईको कमी देखिएको छ । दर्ता तथा नविकरण नगरेका व्यवसायीहरुलाई समयमै दर्ता तथा नविकरणका लागि आग्रह गरिएको घरेलु कार्यालयका प्रमुख नारायण प्रसाद ढकालले बताए ।