कांग्रेसको केन्द्रीय सदस्यमा पन्थको उम्मेदवारी घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेसको केन्द्रीय सदस्यमा पन्थको उम्मेदवारी घोषणा

    खबरपुञ्ज संवाददाता

    २० मंसिर २०७८, मंगलवार

    दमौली : नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित पन्थले अपाङ्गता कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

    अपाङ्गता भएका व्यक्तिहरुको आफ्नै कठिन भोगाइ र सिकाइहरुलाई नेपाली कांग्रेस पार्टी र राज्यको नीति निर्माणमा समावेश गर्न, अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गर्न, उनीहरूको अधिकार सुनिश्चित गर्न र समाजका सबै क्षेत्रको साथ सहयोग जुटाई अपाङ्गता व्यक्तिको अधिकार प्राप्तिको लड़ाईलाई टुङ्गोमा पुर्याउन केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पन्थले बताए ।

    उनले मानवअधिकार र सामाजिक न्यायका लागि लड्दै समावेशी युवामैत्री प्रविधियुक्त ‘स्मार्ट कांग्रेस’ बनाउने अभियानमा मुलुकभरका सम्पूर्ण महाधिवेशन प्रतिनिधिसँग सहयोगको अपिल गरेका छन्।

    “कुनै पनि व्यक्ति अपाङ्गता हुनु पर्दा धेरै सपनाहरु टुटेका हुन्छन्, भरोसाहरु ढलेका हुन्छन् । तिनै टुटेका सपनाहरु जोड्ने मेरो अभियान निरन्तर र अथक छ,” उनले भने, “ अपाङ्गता भएका व्यक्तिहरुको भरोसा र अधिकार प्राप्तिको अभियान प्रभावकारी र सफल बनाउन अझै धेरै कार्य गर्नु बाँकी नै छ ।”

    तमाम अपाङ्गता भएका व्यक्तिहरुको भोगाइ, अनुभव र सिकाइलाई अपाङ्गता अधिकार प्राप्तिको अभियानमा जोड्ने र राज्यको नीतिमा समेत समावेश गर्ने कार्यमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा विगत २५ वर्ष देखि निरन्तर लड्दै आएको उनले उल्लेख गरे ।