व्यासका शहरी वडामा ३० र ग्रामीण वडामा २० प्रतिशत लागत सहभागितामा योजना सञ्चालन (निर्णय सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासका शहरी वडामा ३० र ग्रामीण वडामा २० प्रतिशत लागत सहभागितामा योजना सञ्चालन (निर्णय सहित)

    खबरपुञ्ज संवाददाता

    २२ मंसिर २०७८, बिहीबार

    दमाैली : तनहुँको व्यास नगरपालिकाले शहरी र ग्रामीण वडामा लागत सहभागितामा योजना सञ्चालन गर्नका लागि टोल विकास संस्थामार्फत् प्रस्ताव माग गरेको छ । विभिन्न वडाहरुबाट लागत सहभागिताका योजना माग भइरहेकाले नगरपालिकाले पुस १० गतेभित्र टोल विकास संस्थामार्फत् प्रस्ताव माग गर्ने गरी तयारी गर्न पूर्वाधार विकास तथा योजना विकास शाखालाई जिम्मा दिएको छ ।

    शहरी वडामा न्यूनतम ३० र ग्रामीण वडामा न्यूनतम २० प्रतिशत लागत सहभागिता रहने गरी निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । शहरी वडामा २० लाखका पाँच र ग्रामीण वडामा रु दश लाखका दश योजनाहरुको लागत स्टमेट र सम्बन्धित वडाको सिफारिसका आधारमा प्रस्ताव माग गर्ने निर्णय भएको छ । बिहीबार बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।

    नगरपालिकाले ककरार सेवामा कार्यरत कर्मचारीहरुको कार्य सम्पादन स्तर मूल्याङ्कन तथा नयाँ अवधिका लागि करार सम्झौता सम्बन्धी मापदण्ड, २०७८ अनुसार नगरपालिकामा कार्यरत करार कर्मचारीको मूल्याङ्कन गर्न समिति गठन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत सिग्देलको संयोजकत्वमा वरिष्ठ इन्जिनियर डा. राजु पौडेल, सुपरिवेक्षकमा वरिष्ठ अधिकृत रामचन्द्र हड्खलेलाई जिम्मा दिइएको छ ।

    नगरपालिका भित्रका विद्यालयहरुमा दरबन्दी कटौती गर्दै जाँदा विद्यालयमा कार्यरत शिक्षकहरुको दरबन्दी मिलान गर्नुपर्ने र विद्यार्थी कम भएका विद्यालय मर्ज गर्नुपर्ने देखिँदा आवश्यक निर्णय लिनका लागि नगर प्रमुख, उपप्रमुख र नगर शिक्षा अधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय भएको छ । बालबिकासमा न्यूनतम पाँच जना र अन्य तहगत आधारमा न्यूनतम दश जना भन्दा कम विद्यार्थी भएका विद्यालयहरुलाई बालबालिकाको शिक्षा आर्जन गर्ने प्रत्याभूति गरी विद्यालय मर्ज गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले कार्यालयको काममा बाधा नपर्ने गरि जनप्रतिनिधि र कर्मचारी भ्रमण प्रस्तावलाई व्यवस्थापन गर्न नगर उपप्रमुख मीरा जोशीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । बैठकले तनहुँ उद्योग वाणिज्य सङ्घले पुस २९ गतेदेखि आयोजना गर्न लागेको तनहुँ महोत्सवका लागि व्यास नगरपालिका–४ र १० को सीमानामा रहेको माथिल्लो भतेरी उपलब्ध गराउने निर्णय गरेको छ ।

    बैठकले प्राथमिक विद्यालय शिक्षक दरबन्दी मिलान सम्बन्धी स्वेच्छिक अवकास प्रोत्साहन वितरण कार्यविधि २०७८, अनुदान कोटामा शिक्षक नियुक्ति सम्बन्धी कार्यविधि २०७८, स्थानीय कृषि वजार व्यवस्थापन निर्देशिका २०७८, पारित गरेको छ भने स्वेच्छिक अवकासका लागि पुस मसान्तसम्म म्याद थप गरिएको छ । नगरपालिका अन्तरगतका कर्मचारीहरुको तलब र अन्य सुविधा सफ्टवेयर मार्फत गर्न गराउन लेखा शाखालाई जिम्मा दिइएको छ ।