दमाैली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमजीवि युवा र श्रमिकको हकहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तनहुँको व्यास नगरपालिका–५ पाटनमा शुक्रबारदेखि सुरु प्रथम पाटन पर्यटन महोत्सवको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले आफ्नो कार्यकालभार श्रमजीवि युवा र श्रमिकको पक्षमा काम गर्ने बताए ।
सबै युवाहरुलाई योग्यता, क्षमता अनुसार रोजगारी दिने बताउँदै मन्त्री श्रेष्ठले भने, “नेपालबाट वैदेशिक रोजगारमा जाने ९७ प्रतिशत युवा बिना सीप विदेश जाने गरेका छन्, उनीहरुलाई सीप सिकाएर मात्रै विदेश पठाउन तालिम केन्द्र स्थापना गर्ने तयारी गरेका छौ ।”
मन्त्री श्रेष्ठले सात वटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्ने सरकारको लक्ष्य रहेको भन्दै दक्ष बनाएर मात्रै युवालाई विदेश पठाउन सकिए ठगिने प्रवृत्ति अन्त्य हुने बताए । “श्रम तथा रोजगारका क्षेत्रमा युवा ठगिने दिन दिए, किसान श्रेष्ठले नेतृत्व गरेको मन्त्रालयले सबैलाई न्याय दिन्छ,” उनले भने, “दलालहरु होसियार त्यस्तालाई ठेगान लगाउँछौ ।”
मन्त्री श्रेष्ठले नेकपा एमालेप्रति व्यङ्ग्य गर्दै दुई पटक संसद विघटन गर्नेहरु पुनः बहुमत चाहियो भन्दै हिँड्न थालेको बताए । एमालेलाई जनताको मतको आवश्यक नभएको भन्दै उनले संसद विघटन गरेपनि किन मत चाहियो भन्दै प्रश्न गरेका छन् ।