दमौली । नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले आफूलाई षडयन्त्र गरेर जिम्मेवारीबाट हटाउन चाहनेहरु राजनीतिक रुपमा अघि बढ्नुको साटो पतन हुँदै जाने बताएका छन् । तनहुँकाे बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा शनिबार आयाेजित जनतासँगकाे भेटघाट कार्यक्रममा जाेशीले भने, ‘‘मलाई राजनीतिक रुपमा सिध्याउँछु भनेर खुलेआम हिँड्नेहरु आफै सिद्धिनेछन् ।”
गोविन्दराज जोशीको समाप्तिसँगै आफ्नो उदय ठानेका नेता रामचन्द्र पौडेलले, जोशीसँगै आफ्नो पनि पतन हुन्छ भनेर नसोचेको उनकाे भनाई थियो । “म अर्को पार्टी खोल्दिन र अर्कोपाटीमा जान्न म न्यायको लागि पार्टी भित्रै सङ्घर्ष गर्नेछु,” जाेशीले भने ।
देशभरीका काँग्रेस नेताहरु काठमाडौंमा भेला हुँदा आफू भने जनताकाे घरदैलोमा हिँडिरहेको उनले बताए । निष्ठावान कार्यकर्तालाई पार्टीबाट पन्छाएर, राप्रपा तथा अन्य पार्टीबाट मान्छेहरु ल्याएर केन्द्रीय समितिमा सिधै ल्याउनु दुर्भाग्य भएको उनकाे भनाई थियाे ।
काँग्रेस नेता तथा बिपी विचार समाज तनहुँका सचिव हरिशरण पण्डितले तनहुँ काँग्रेसको समस्या नेता जोशीको कारबाही फुकुवा गरेर मात्रै समाधान नहुने बताए। नेता जोशीको अन्यायपूर्ण कारबाहीको विरुद्धमा क्रियाशिल सदस्यता नविकरण नगरेका सयौं कार्यकर्ताको उचित व्यवस्थापन गर्न प्याकेजमै सहमति हुनुपर्ने उनकाे भनाई छ ।