बन्दीपुरका झप्रीडाँडा र काफलस्वाँरा पकेट क्षेत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरका झप्रीडाँडा र काफलस्वाँरा पकेट क्षेत्र

    खबरपुञ्ज संवाददाता

    २५ मंसिर २०७८, आईतवार

    दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले दुई वडालाई धान र सुन्तला पकेट क्षेत्र घोषणा गरेको छ । व्यावसायिकरूपमा धान र सुन्तला उत्पादनका लागि गाउँपालिकाले दुई वडालाई पकेट क्षेत्रका रूपमा घोषणा गरेको हो ।

    बन्दीपुर–४ झप्रीडाँडालाई धान र बन्दीपुर–६ काफलस्वाँरालाई सुन्तला पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् । “धान र सुन्तलाको व्यावसायिक उत्पादन गर्दै कृषकलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम लागू गरेका हौँ”, उनले भनिन्, “कार्यक्रमअन्तर्गत कृषकलाई सघाउँछौँ ।”

    साना व्यावसायिक कृषि उत्पादन केन्द्र (धान पकेट) विकास कार्यक्रम झप्रीडाँडास्थित खलटारी, बेलटारी, तिसहुरे, साठी खेतमा सञ्चालन हुनेछ । तीन सय रोपनी क्षेत्रफलमा सञ्चालन हुने कार्यक्रमका लागि गाउँपालिकाले रु पाँच लाख ७० हजार अनुदान दिएको छ । त्यसमा कृषकले रु तीन लाख ३७ हजार ५०० लागत सहभागिता बेहोर्नुपर्नेहुन्छ ।

    निर्वाहमुखी धानखेती गर्दै आएका कृषकले यो कार्यक्रमपछि व्यावसायिकरूपमा धानखेती गर्ने लक्ष्य लिइएको गुरुङले बताइन् । “धान उत्पादन वृद्धिका लागि यान्त्रीकरणमा पनि सहयोग गर्छौँ”, उनले भनिन्, “यसले कृषकलाई व्यावसायिक बनाउनुका साथै धान उत्पादनमा सहयोग पुग्नेछ ।”

    बन्दीपुर–६ काफलस्वाँरामा साना व्यावसायिक कृषि उत्पादन केन्द्र (सुन्तला पकेट) कार्यक्रमका लागि गाउँपालिकाले रु पाँच लाख ५० हजार अनुदान दिनेछ । रु दुई लाख ७२ हजार ५०० कृषकले लागत सहभागिता बेहोर्नुपर्नेहुन्छ । दुई सय ५० रोपनी क्षेत्रफलमा सञ्चालन हुने कार्यक्रममार्फत यस गाउँमा सुन्तला उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ । काफलस्वाँरा गाउँपालिकाको राम्रो सुन्तला उत्पादन हुने क्षेत्र हो ।

    यहाँका ३२ घरधुरीले सुन्तला खेती गर्दै आएका छन् । यहाँबाट वार्षिक करिब रु २० लाखसम्मको सुन्तला उत्पादन हुने गरेको छ । सुन्तलाको पकेट क्षेत्रका रूपमा घोषणा गरिएपछि यहाँ वार्षिकरूपमा सुन्तला उत्पादन वृद्धि हुने लक्ष्य लिइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।