आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकावासीलाई सहज रुपमा सेवा दिने उद्देश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।
कोभिड–१९ को महामारीका बेला खड्किएको आवश्यकतालाई महशुस गर्दै एम्बुलेन्स खरिद गरी ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । गाउँपालिकावासीलाई स्वास्थ्य उपचारका लागि अन्यत्र जानुपर्दा महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता अब हट्ने पोखरेलले बताए ।
बुधबार मात्रै गाउँपालिकामा एम्बुलेन्स आएको र एम्बुलेन्स समितिको बैठक बसेर मूल्य निर्धारण गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमप्रसाद उपाध्यायले जानकारी दिए । “के कसरी सञ्चालन गर्ने र मूल्य निर्धारणका लागि समितिको बैठकले तोकेपछि एम्बुलेन्स सञ्चालनमा आउँछ,” उनले भने ।
उनका अनुसार एम्बुलेन्स सेवाबाट तनहँुका अतिरिक्त गोरखा र चितवनका स्थानीयवासी लाभान्वित हुनेछन् । यो एम्बुलेन्स सरकारी तवरबाट सञ्चालित हो । आँबुखैरेनीमा निजी क्षेत्रबाट थप तीन एम्बुलेन्स सञ्चालनमा रहेको छ । “कोभिड महामारीका बेला सङ्क्रमितलाई स्वास्थ्य संस्थासम्म लैजान कठिनाई भएको थियो, पुनः महामारीको जोखिम बढ्दो छ,” उनले भने ।