दमाैली । संस्थागत क्षमता स्वमूल्याङ्कनमा तनहुँको आँबुखैरेनी गाउँपालिकाले ७३.५ अङ्क प्राप्त गरेको छ । स्थानीय तह क्षमता विकास स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार गाउँपालिकाले कूल एक सय अङ्कमा ७३.५ अङ्क प्राप्त गरेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक आर्थिक वर्षमा स्थानीय तहको स्वमूल्याङ्कन गर्ने गर्दछ । गाउँपालिकाको शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह लगायतका सूचकलाई आधार मानेर गाउँपालिकाको स्वमूल्याङ्कन गरिएको प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए ।
गाउँपालिकाका अनुसार शासकीय प्रबन्धतर्फ कूल ९ अङ्कभारमा ६.५, सङ्गठन तथा प्रशासनतर्फ ८ अङ्कभारमा ६.२५, वार्षिक बजेट तथा व्यवस्थापनतर्फ ११ अङ्कभारमा ८.५, वित्तीय एवं आर्थिक व्यवस्थापनतर्फ ११ अङ्कभारमा १०.२५ अङ्क प्राप्त भएको छ ।
सेवाप्रवाहतर्फ १६ अङ्कभारमा ११.५, न्यायिक कार्यसम्पादनतर्फ ७ अङ्कभामा ७, भौतिक पूर्वाधारतर्फ १३ अङ्कभारमा १०.५, सामाजिक समावेशीकरणतर्फ १० अङ्कभारमा ५.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ ९ अङ्कभारमा ५.५ र सहकार्य र समन्वयातर्फ ६ अङ्कभारमा २ अङ्क प्राप्त भएको छ ।