दमौली । इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराई उत्कृष्ट पुरस्कार सहित सम्मानित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले भट्टराईलाई उत्कृष्ट पुरस्कार सहित सम्मान गरेको हो । पुरस्कारको राशी नगद ७ हजार र सम्मानपत्र रहेको छ
शनिबार पोखरामा आयोजित कार्यक्रममा मुख्य न्यायाधीश डिल्लीराज अर्यालले भट्टराईलाई पुरस्कार प्रदान गरे । इन्सेक जिल्ला प्रतिनिधिको हैसियतमा २०२१ मा कुशलतापूर्वक मानव अधिकार अनुगमन र प्रलेख कार्य सम्पन्न गरेबापत भट्टराईलाई पुरस्कार प्रदान गरिएको इन्सेक क्षेत्रीय संयोजक शिव खकुरेलले जानकारी दिए ।
इन्सेकले मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा हरेक वर्ष प्रत्येक प्रदेशमा एक/एक जना जिल्ला प्रतिनिधिलाई पुरस्कृत गर्दै आएको छ । भट्टराईले यस अघि सन २०१५ मा पनि उत्कृष्ट जिल्ला प्रतिनिधि पुरस्कार प्राप्त गरेका थिए ।
सन् २००४ देखि तनहुँमा इन्सेक जिल्ला प्रतिनिधिको रुपमा कार्यरत भट्टराई मानवअधिकार र सामाजिक न्यायको अभियानमा निरन्तर क्रियाशील छन् । पत्रकारितामा समेत आबद्ध भट्टराई नेपाल पत्रकार महासंघ तनहुँको पूर्व अध्यक्ष तथा लोकवाणी दैनिकका सम्पादक समेत हुन् ।