सरकारले जनताको मन छुने काम गरेको छ: मुख्यमन्त्री पोख्रेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सरकारले जनताको मन छुने काम गरेको छ: मुख्यमन्त्री पोख्रेल

    खबरपुञ्ज संवाददाता

    १३ फाल्गुन २०७८, शनिबार

    दमाैली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले प्रदेश सरकारले छोटो अवधिमै जनताको मन छुने कामको सुरुवात गरेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरस्थित भानु माध्यमिक विद्यालयको शनिबार आयोजित स्वर्ण महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले आफू नेतृत्वको सरकार गठन भएको आठ महिनाको अवधिमा जनताको मन छुने काम गरेको दावी गरेका हुन् ।

    सरकारले फागुन १ गतेदेखि प्रदेशभर रगत निःशुल्क उपलब्ध गराउने निर्णय गरेको र उक्त निर्णयले जनतालाई राहत हुने बताए । “सरकार गठन भएको धेरै समय नभएपनि केही कामको सुरुवात गरेका छौ, जसले जनतालाई राहत पुग्ने विश्वास लिएका छौ,” उनले भने, “अब प्रदेशका जनताले रगत निःशुल्क पाउँछन्, त्यसको शुल्क सरकारले बेहोर्छ ।”

    प्रदेश अन्तर्गतका ११ वटै जिल्लामा सडकमा वेवारिसे अवस्थामा जनता भौतारिन नपरोस् भन्नका लागि मानव सेवा आश्रमसँग सम्झौता गरी त्यस्ता व्यक्तिको व्यवस्थापन गरिएको मुख्यमन्त्री पोख्रेलले बताए । सरकारले पोखरामा दुई र लमजुङमा एउटा मानव आश्रमसँग सम्झौता गरी प्रति व्यक्ति तीन हजार दिने गरी सडकमा वेवारिसे अवस्थामा रहने व्यक्तिको व्यवस्थापनका लागि बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

    कोभिडबाट मृत्यु भएकाका परिवारलाई रु ५० हजार राहत दिने र अभिभावक गुमाएका बालबालिकालाई १८ वर्ष उमेर नपुगेसम्म मासिक रु पाँच हजार राहत दिने कामको सुरुवात भएको मुख्यमन्त्री पोख्रेलले बताए ।

    मुख्यमन्त्री पोख्रेलले प्रदेशभित्रका अस्पतालमा निःशुल्क रुपमा डायलासिस गर्ने क्षमता वृद्धि गर्ने सरकारको सोच रहेको बताए । प्रदेशभित्र हाल पाँच सय ५० जना डायलासिस गर्नुपर्ने बिरामी रहेपनि एक सय ७५ ले मात्रै निःशुल्क सेवा पाइरहेकाले सुविधा विस्तार गर्नुपर्ने अवस्था रहेको उनकाे भनाई थियो ।

    अहिलेको शिक्षा व्यावहारिक नभएकामा सबैको चासो रहेको बताउँदै मुख्यमन्त्री पोख्रेलले व्यावहारिक शिक्षाको आवश्यकतामाथि जोड दिए । सरकारले शिक्षा नीति ल्याएको र सोही नीतिमा रहेको ऐन बनाउनुपर्ने अवस्था रहेको उनकाे भनाई थियो ।

    कार्यक्रममा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, प्रदेश सांसद सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लगायतले शिक्षाको सुधारमा जोड दिएका थिए ।