कविता संग्रह ‘समयको कठघरा’ को लोकार्पण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    कविता संग्रह ‘समयको कठघरा’ को लोकार्पण

    खबरपुञ्ज संवाददाता

    १३ फाल्गुन २०७८, शनिबार

    दुलेगौडा । कविता संग्रह ‘समयको कठघरा’ सार्वजनिक गरिएको छ । कवि जुनु खड्काद्वारा लिखित कविता संग्रहको शनिबार लोकर्पण गरिएको हो ।

    शुक्लागण्डकी नगरपालिका–१० ढोरमुलकोट दरबारको फेदीमा आयोजित कार्यक्रममा कवि भुपिन खड्काले कविता संग्रहको लोकार्पण गरेका हुन् । उनले देश र समाज बनाउनलाई साँस्कृतिक विम्बको आवश्यकता पर्ने बताए । ‘समाज बदल्नलाई कवि लेखकहरुको ठुलो भुमिका रहन्छ’, उनले भने ।

    कविहरुले राज्यको प्रतिपक्षिय चेतनालाई विस्तार गर्नुपर्नेमा उनको जोड छ । कवि खड्का अगाडी थप्दै भन्छन्, ‘कविहरुले सत्ताको गीत गाउन जुन दिनदेखी सुरु गर्छन् त्यो दिन देश ध्वस्त हुन्छ, त्यो ग्यारेन्टी हो । कविहरुले गर्ने भनेको प्रश्न हो । समाज सुधारको लागि प्रतिरोध गर्न आवश्यक छ ।’ राज्यले साहित्यलाई अनुत्पादक क्षेत्र भन्दै लगानी गर्न नचाहेको उनको आरोप छ ।

    लोकार्पण गरिएको कविता संग्रहमा ५० वटा कविता समावेश गरिएको छ । जिवनचक्रमा देखेका सुनेका र भोगेका विषयवस्तुलाई सिर्जना गरेर कविता संग्रह तयार पारेको स्रष्टा खड्काले बताईन् । कोरोना महामारीले आक्रान्त बनाएर लामो समय विद्यालय बन्द भएर घरमा थुनिएको बेला सिर्जित कविताहरु संग्रह तयार पारेको उनले बताईन् । विभिन्न पत्रपत्रिका र अनलाइनहरुमा फुटकर कविता लेख्ने खड्काको यो पहिलो कविता संग्रह हो । उनी पेशाले शिक्षक हुन् ।

    सञ्जिव पौडेलले कविता संग्रहको समिक्षा गर्दै कविले बाँचेको युगलाई ‘समयको कठघरामा’ उभ्याएको बताए । राजनीतिक, सामाजिक विकृति विरुद्धका सिर्जना कविता संग्रहमा समावेश गरिएको उनको ठम्याई छ । नारीवादको बिषयमा सशक्त कविता रहेको पौडेलले बताए । ‘नारीवादी स्वर चर्को आएका छन् । ती कविताहरु शक्तिशाली पनि देखिन्छन् । केही कविताहरु कमजोर रहेका छन् । कहिलेकाही घाँसको मुठा बाध्न जान्नेले बाध्दा पनि फुस्केझै कविता फुस्किएका छन् । एकाध लाईनले फुस्काइदिएको छ । कवितामा सौन्दर्य आएको छैन । त्यस्लाई सुधार्न गर्न आवश्यक थियो’, उनको सुझाव थियो ।

    ढोर मुलकोट संरक्षण एवम पर्यटन व्यवस्थापन समितिका अध्यक्ष खड्गविक्रम खाँण ठकुरीले ऐतिहासिक दरबार क्षेत्रको पर्यटन प्रबद्र्धनमा कविता संग्रह विमोचन कार्यक्रमले टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

    सोही अवसरमा शुक्ला साहित्य संगमको १७९ औँ नियमित काव्य श्रृंखला पनि ढोर मुलकोट दरबारको फेदीमा गरिएको छ । नियमित काव्य श्रृंखला नयाँदेखी पुराना साहित्यकारहरुले आफ्नो रचना वाचन गरेर सुनाएका थिए । शुक्ला साहित्य संगमले आयोजना गरेको कविता संग्रह लोकार्पण तथा १७९ औँ नियमित काव्य श्रृंखलालाई आर्थिक सहयोग शुक्लागण्डकी नगरपालिका वडा नम्बर १० को कार्यालयले गरेको हो ।