दमौली । सरकारले राष्ट्रिय भूमि आयोग तनहुँको सदस्यमा तीन जना नियुक्त गरेको छ । आयोगको सदस्यमा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व हुने गरी सदस्य नियुक्त भएका छन् ।
नेकपा एकीकृत समाजवादीका सचिव श्रीराम कार्की, जसपाका अध्यक्ष कृष्ण गुरुङ र नेकपा माओवादीकी प्रदेश सदस्य सर्वदा खनाल सदस्यमा नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को गत फागुन १६ को निर्णयानुसार तीन जना सदस्यमा नियुक्त भएका हुन् । राष्ट्रिय भूमि आयोग गठन आदेश, २०७८ को दफा ८ को उपदफा (१) को खण्ड (च) बमोजिम सदस्य नियुक्त गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको छ ।
नवनियुक्त सदस्यको शुक्रबार शपथग्रहणको कार्यक्रम रहेको छ। आयोगको जिल्ला अध्यक्षमा कांग्रेसका नेता रामचन्द्र अधिकारी नियुक्त भइसकेका छन् ।