म्याग्दे । म्याग्दे गाउँपालिकाले एकल र विदुर पुरुषलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । चालु आर्थिक वर्ष ०७८÷७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाभित्र स्थायी रुपमा बसोबास गर्ने ४५ वर्ष पूरा भई ७० वर्ष ननाघेका लक्षित एकल तथा विदुर पुरुष तथा ४५ वर्ष पूरा भई ६० वर्ष ननाघेका लक्षित दलित एकल तथा विदुर पुरुषलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न लागिएको हो ।
उपाध्यक्षसँग एकल तथा विदुर कार्यक्रममार्फत् सामाजिक सुरक्षा भत्ता प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । गाउँपालिकाले (ग) र (घ) वर्गका परिचयपत्र प्राप्त सबै उमेर समूहका महिला पुरुष अपाङ्गता भएका व्यक्तिलाई पनि कार्यविधिमा भएको व्यवस्था अनुसार भत्ता प्रदान गरिनेछ ।
आन्तरिक आयतर्फको स्वीकृत बजेटबाट मासिक सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने गरी व्यक्तिगत रुपमा निवेदन पेश गर्न गाउँपालिकाले आह्वान गरेको छ । कार्यविधिको दफा ३ को ड र ढ तथा दफा ४ र ६ को परिधिभित्र रही चैत १३ गतेभित्र तोकिएको ढाँचा अनुसारको आवेदन फारम भई गाउँपालिकाको महिला विकास शाखामा दरखास्त दिन गाउँपालिकाले आग्रह गरेको छ ।
निवेदन, अपाङ्ग परिचयपत्र, ज्येष्ठ नागरिक परिचयपत्र, नागरिकताको प्रतिलिपि, विदुरका लागि मृत्युदर्ता, सम्बन्धविच्छेदको प्रमाण लगायतका कागजात संलग्न राख्नुपर्ने बताइएको छ ।