दमाैली । तनहुँको व्यास नगरपालिका–३ विपी वनवाटिकामा निर्माणाधीन अवस्थामा रहेको सभागृहको नाम विपी सदन, जिल्ला सभागृह राख्न व्यास नगरपालिकाले माग गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा साेमबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त सभागृहको नामाकरण विपी सदन, जिल्ला सभागृह राख्न माग गरेको हो ।
जिल्ला सभागृह पूर्व प्रधानमन्त्री विपी कोइरालाले विसं २०३६ सालमा सम्बोधन गर्नुभएको ऐतिहासिक स्थलमा रहेकाले उक्त सभागृहको नामाकरणका लागि जिल्ला समन्वय समितिमार्फत् सम्बन्धित निकायमा अनुरोध गरी पठाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । नगरपालिकाले सभागृह सम्पन्न भएपछि सञ्चालको जिम्मेवारी पनि दिन अनुरोध गरेको छ ।
शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई कास्कीमार्फत् निर्माण भइरहेको भवन अन्तिम चरणमा पुगेको छ । विसं २०७४ माघ २८ गतेदेखि निर्माण शुरु भएको भवन कोरोना कहरका कारण ढिलाई भएको थियो । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने उक्त भवन कोरोनाको चपेटामा परेको थियो । कोरोना कहरका कारण भवन निर्माणको म्याद चैत मसान्तसम्म थप भएको छ ।
भ्याट बाहेक रु २३ करोड ६२ लाख ४३ हजार ३ सय ३१ रुपैयाँको लागतमा निर्माण भइरहेको भवन विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौस्थित डाँफे÷एमए÷प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो । सोही ठाउँमा रहेको पुरानो सभागृह भत्काएर विसं २०७४ माघ २८ गतेदेखि भवन निर्माण शुरु भएको थियो ।
सभाहल निर्माण सम्पन्न भएको मितिदेखि एक वर्षसम्म मर्मत सम्भारको अवधि राखिएको छ । ७ सय ५० जना क्षमता भएको सभाहलको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । उक्त भवनमा मुख्य सभाहल बाहेक एक सय ५० जना क्षमताको सेमिनार हल निर्माण हुनेछ । सभाहल बाहिर फाउण्टेन सहितको भिआइपी पार्किङ स्थल समेत रहनेछ । सभाहल ५३ मिटर लम्बाई, १५ उचाई र २५.५ चौडाईको हुनेछ ।
नगरकार्यपालिकाको बैठकले व्यास नगर सरसफाई सम्बन्धी कार्यविधि, २०७७ लाई संशोधन गर्ने निर्णय गरेको छ । यस्तै आर्थिक वर्ष ०७८÷७९ का लागि तय भएका योजनाहरुको प्रगति समिक्षा गरी हाल प्राप्त अत्यावश्यक मागहरुलाई स्रोतले भ्याएसम्म सम्बोधन गर्ने निर्णय भएको सिग्देलले जानकारी दिए ।
बैठकले सामुदायिक विद्यालयका शिक्षक दरबन्दी मिलान र सहमति प्राप्त शिक्षकहरुको सरुवा प्रक्रिया आरम्भ गर्ने निर्णय समेत गरेको छ ।