भानु नगरपालिकाको मेयरमा पौडलको चर्चा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानु नगरपालिकाको मेयरमा पौडलको चर्चा

    खबरपुञ्ज संवाददाता

    १० चैत्र २०७८, शुक्रबार

    भानु । नेकपा एकीकृत समाजवादी तनँहुका नेता श्रीराम पौडेलले आउँदो स्थानीय चुनावमा भानु नगरपालिकाको मेयरमा उम्मेदवारी दिने सम्भावना बढेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय चुनावमा पौडेल भानु नगरपालिकाको मेयरको प्रतिस्पर्धामा उत्रिने सम्भावना बढेको हो।

    पौडेलले उम्मेदवारी दिने सम्भावनालाई उनले केही दिनअघि सामाजिक सञ्जालमा गरेको एउटा पोष्टले समेत पुष्टि गरेको छ ।
    पौडेलले फेसबुकमा लेखेका छन्, “स्थानीय सरकार गाउँघरको सरकार हो । संघीय गणतन्त्रले नेपाली जनतालाई दिएको ठूलो उपहार शक्तिशाली स्थानीय सरकार पनि हो । त्यसैले जनताको दरदैलोको सरकारको नेतृत्व लिन आफ्नो क्षेत्रमा अब्बल रेकर्ड बनाएको उम्दा र योग्यतम व्यक्ति अग्रसर नहुने हो भने आउँदो पाँच वर्ष जनताले फेरि अक्षम र नालायक पात्रबाट शासित हुन बाध्य हुनुपर्छ । तसर्थ सकारात्मक सोंच, समाजको अग्रगामी र दीगो रुपान्तरण अनि जनताको जीवनमा सुख र खुशियाली ल्याउने दृष्टिकोण भएको सक्षम व्यक्तिलाई चुन्न र चुनिन प्रेरित गरौं । अहिले सोचौं, सबैले सोचौं र मिलेर हातेमालो गरौं ।”

    पौडेल नेकपा एकीकृत समाजवादीको तनँहुका राजनीतिक कार्यक्रम र भानु नगरपालिका पार्टी भेला तथा कार्यक्रममा सक्रिय देखिएका छन् । उनी नेकपा एकीकृत समाजवादीको तनहुँ जिल्ला सचिवालय सदस्य तथा काठमाडौ तनहुँ सम्पर्क मञ्चका अध्यक्ष हुन् । यसअघि उनी नेकपा एमालेमा सक्रिय थिए ।केपी ओलीको कदमलाई उनले प्रतिगामी भन्दै आलोचनामा उत्रिएका थिए ।

    उनी शैक्षिक परामर्श व्यवसायी हुन् । आफ्नो उम्मेदवारीको सम्भवाना बारे पौडेले भने, “पार्टीले दिएको हरेक जिम्मेवारीलाई मैले अहिलेसम्म इमान्दारीको साथ पूरा गरेको छु । यदि मेरो पार्टीले मलाई मेयरको उम्मेदवारको रुपमा अघि बढायो भने म भानुवासी जनताको जीवनमा आमूल परिवर्तन र खुशीयाली ल्याउनका लागि आफ्नो सम्पूर्ण सामाथ्र्य परिचालन गर्न तत्पर छु । भानुवासी जनता र युवा साथीहरुले चाहिँ भानुको मेयरमा उम्मेदवारी घोषणा गर्न मलाई घच्घच्याई रहनु भएको छ । तर, म पार्टी निर्णयको प्रतीक्षामा छु ।”

    विद्यार्थीकालमै अनेरास्ववियुमार्फत राजनीतिमा प्रवेश गरेका पौडेलले विभिन्न माध्यमबाट आफूलाई समाजसेवामा सक्रिय तुल्याएका छन् । यसअघि पौडेलले नेपाल जेसीजको मुख्य तालिम आयुक्त, सन् २०१८ को राष्ट्रिय महासचिव तथा बालाजु जेसिजका संस्थापक अध्यक्षको रुपमा काम गरी सकेका छन् । उनी तनँहुको भानु नगरपालिका वडा नं ८ का बासिन्दा हुन् । उनी एमालेकालदेखि नै पूर्वप्रधानमन्त्री माधव नेपाल निकट मानिन्छन् ।

    पौडेल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठका पनि विश्वास पात्र मानिन्छन् । पौडेल भन्छन्, “पाँच दलीय गठबन्धन सरकारका तर्फबाट हामीले भानु नगरपालिकालाई प्राथमिकतामा राखेर जनताको आवश्यकता अनुसारको योजना, नीति तथा कार्यक्रम र बजेट परिचालन गरेका छौं । भानुभक्तको जन्मथलोलाई देशको उत्कृट पर्यटकीय गन्तव्य बनाउने गरी योजना अघि सारेका छौं । त्यसको नतिजा निकट भविष्यमा देखिने छ । समृद्ध भानु नगरपालिका र खुशी भानुवासी जनता हुन । ”