दमाैली । नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा कलाकार पल शाह बिहीबार पुर्पक्षका लागि थुनामा गएका छन् । जिल्ला अदालतले बिहीबार शाहलाई थुनामा पठाउने आदेश दिएको हो । उनलाई राति ७ः१५ बजे कारागार प्रशासनले बुझेको थियो । शाहविरुद्ध अब थुनामा रहेर कानुनी प्रक्रिया अगाडी बढ्नेछ ।
पल शाह पुगेसँगै कारागारमा कैदीबन्दीको सङ्ख्या दुई सय ५८ पुगेको छ । १३५ क्षमताको कारागारमा महिला पुरुष गरी उक्त सङ्ख्यामा कैदीबन्दी रहेको निमित्त जेलर नारायण अधिकारीले जानकारी दिए । कारागारमा हालै मात्र महिला बन्दीगृह समेत सञ्चालनमा आएको छ । महिला बन्दीगृहको क्षमता २० जनाको हो ।
कारागारमा रहेका कैदीबन्दीका लागि टेलिफोन, टेलिभिजन सुविधा रहेको छ भने अध्ययन गर्न चाहनेका लागि पुस्तकालय पनि व्यवस्था गरिएको अधिकारीले बताए । कारागारभित्र छुट्टै नाइके, चौकीदारको व्यवस्था गरिएको छ ।