दमौली । व्यास नगरपालिका–३ स्थित विपी वनवाटिकामा निर्माणाधीन सभागृहको नाम विपी सदन राख्ने निर्णय भएको छ । जिल्ला सभाको बैठकले उक्त सभागृहको नामाकरण गर्ने निर्णय गरेको हो ।
व्यास नगरपालिकाले सभागृहको नाम विपी सदन राख्न कार्यपालिकाको बैठकको निर्णय गरी माग गरेको थियो । नगरपालिकाको माग बमोजिम चैत ९ गते बसेको जिल्लासभाको बैठकले सभागृहको नाम विपी सदन राख्ने निर्णय गरेको जिल्ला समन्वय अधिकारी थमनसिं थापाले बताए ।
जिल्लासभामा समन्वय समितिका प्रमुख, उपप्रमुख, चार नगरपालिकाका प्रमुख र उपप्रमुख तथा छ गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सदस्य रहन्छन् ।
शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई कास्कीमार्फत् निर्माण भइरहेको भवन अन्तिम चरणमा पुगेको छ । विसं २०७४ माघ २८ गतेदेखि निर्माण शुरु भएको भवन कोरोना कहरका कारण ढिलाई भएको थियो । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने उक्त भवन कोरोनाको चपेटामा परेको थियो । कोरोना कहरका कारण भवन निर्माणको म्याद चैत मसान्तसम्म थप भएको छ ।
भ्याट बाहेक रु २३ करोड ६२ लाख ४३ हजार ३ सय ३१ रुपैयाँको लागतमा निर्माण भइरहेको भवन विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौस्थित डाँफे÷एमए÷प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो । सोही ठाउँमा रहेको पुरानो सभागृह भत्काएर विसं २०७४ माघ २८ गतेदेखि भवन निर्माण शुरु भएको थियो ।
सभाहल निर्माण सम्पन्न भएको मितिदेखि एक वर्षसम्म मर्मत सम्भारको अवधि राखिएको छ । ७ सय ५० जना क्षमता भएको सभाहलको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । उक्त भवनमा मुख्य सभाहल बाहेक एक सय ५० जना क्षमताको सेमिनार हल निर्माण हुनेछ । सभाहल बाहिर फाउण्टेन सहितको भिआइपी पार्किङ स्थल समेत रहनेछ । सभाहल ५३ मिटर लम्बाई, १५ उचाई र २५.५ चौडाईको हुनेछ ।