


दुलेगाैडा । यहाँका एक वडाध्यक्षले विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै जन्मदिन मनाएका छन् । शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले गाउँफर्कोदय माविकाे कक्षा ८ मा अध्ययनरत सलिना विकको अभिभावकत्व ग्रहण गरेर जन्मदिन मनाएका हुन् ।
वडाध्यक्ष रेग्मीले ३३ औँ जन्मदिनमा सोमबार विद्यालयमा एक कार्यक्रम गर्दैै अभिभावकत्व ग्रहण गरे । विककलाई कक्षा १२ सम्म पढाउने जिम्मा लिएको उनले बताए । कक्षा १२ सम्मको पोशाक, पाठ्यपुस्तकसँगै विद्यालयको मासिक शुल्क तिरेर विद्यालयमा अभिभावकिय जिम्मेवारी पूरा गर्ने वडाध्यक्ष रेग्मीले बताए ।
‘सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशिल व्यक्तिले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने हो भने कोही पनि पढाईबाट वञ्चित हुन पर्दैन् । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु माध्यमिक तहमा नपुग्दै कक्षा छाड्ने समस्याको पनि निराकरण हुन्छ’, उनले भने । विद्यालय शिक्षा निशुल्क भनिएपनि पोशाक, शैक्षिक सामाग्री र ट्युशन लगायतका शुल्क तिर्न नसक्ने कारण अझै पनि बिचमै पढाई छाड्ने प्रचलन रहेको वडाध्यक्ष रेग्मीले बताए ।
वडाध्यक्ष रेग्मीले यसअगाडी पनि विभिन्न रचनात्मक काम गर्दै आईरहेका छन् । कोरोना कहरको बेला ज्यालादारीमा काम गरेर दैनिकी गुजार्ने मजदुरको घरघरै राहात बोकेर पुगे । दोस्रो लहरमा कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री र पौष्टिक आहारा लिएर घरघरै पुग्ने गरेका थिए ।