शुक्लागण्डकीले बाँड्न थाल्यो भूमिहिनलाई निस्सा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीले बाँड्न थाल्यो भूमिहिनलाई निस्सा

    खबरपुञ्ज संवाददाता

    २१ चैत्र २०७८, मंगलवार

    दुलेगाैडा । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा लालपुर्जा बाँड्नलाई निस्सा वितरण थालिएको छ । राष्ट्रिय भुमि आयोगसँगको सहकार्यमा शुक्लागण्डकी नगरपालिका–७ शान्तिनगरबाट निस्सा वितरण सुरु भएको हो ।

    आइतबार एक कार्यक्रम गर्दै गण्डकी प्रदेश सभा सदस्य आशा कोईराला, राष्ट्रिय भुमी आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारी र शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले निस्सा वितरण गरे ।

    यो वडाबाट ९३० भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले लालपुर्जाका लागि निवेदन दिएका थिए । तिमध्ये ८६६ को विवरण अनलाईनमा प्रविष्ट गरिएकोमा २४७ जनाको निस्सा आएकाले वितरण सुरु गरेको शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाबल्लभ न्यौपानेले बताए । आइतबार ३९ जनाले मात्र निस्सा लिएका छन् । निस्सा वितरणसँगै लालपुर्जाको प्रकृया सुरु भएको न्यौपानेले बताए । ‘अब जग्गा नापनक्साको कामसँगै लालपुर्जा वितरण हुन्छ’, उनले भने । सरकार परिवर्तन भएपनि लालपुर्जा वितरणको काम नरोकिने उनले बताए ।

    शुक्लागण्डकीका १२ वडाबाट चार हजार ४०३ भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले लालपुर्जाका लागि निवेदन दिएका छन् । निर्वाचन आचार संहिता सुरु नहुदैँ निवेदन दिएका हरेकलाई निस्सा वितरण गर्ने मेयर गुरुङले बताए । सकभर आफ्नै कार्यकालमा हरेकको हातमा लालपुर्जा थमाउने मेयर गुरुङको आश्वासन छ । ‘सकभर हाम्रै पालामा पुर्जा पनि दिन्छौँ । नभए वैशाखपछि निर्वाचित भएर आउने जनप्रतिनिधिले लालपुर्जा बाँड्नेछन्’, उनले भने ।
    गठबन्धन सरकार बनेपछि गठित भुमि आयोगसँग शुक्लागण्डकी नगरपालिकाले २४ पुसमा सम्झौता गरेर काम थालेको उनले जानकारी दिए । सम्झौता भएसँगै तिब्र गतिमा काम भईरहेको गुरुङले बताए ।

    शुक्लागण्डकीबासी झन्डै सात दशकदेखी लालपुर्जाको पखाईमा छन् । पटक पटक लालपुर्जा वितरणका लागि सरकारले काम थालेपनि भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा परेको छैन् । लालपुर्जाको सपना निर्वाचनको बेलामा धेरै पटक पाएपनि पुरा नगरेको स्थानीयहरु बताउँछन् ।

    ३० बैशाखमा हुने निर्वाचनको संघारमा नगरपालिकाले निस्सा वितरण थालेपनि स्थानीय लालपुर्जा पाउनेमा विश्वस्त हुन सकेका छैनन् । निर्वाचनको बेला जनताको मत जित्न गरिएको प्रयास हुन सक्ने उनीहरुको आशंका छ । नगरपालिकाले निस्सा दिएपनि खुशी हुन नसकेको विष्णुमाया श्रेष्ठले बताईन् । ‘चुनावी आश्वासन त होला नि’, उनले आशंका व्यक्त गरिन् । अगाडी थप्दै भनिन्, ‘ लालपुर्जाको आश्वासन त धेरै सुन्यौँ । जग्गाको लालपुर्जा दिन्छौँ भनेको सुन्दा कान फुट्न लाईसक्यो । हातमा पर्दैन् । फारम भरेको भरै हो लालपुर्जा पाईदैन् ।’

    बाबुराम सिग्देलले पनि निस्सा चुनावी अस्त्र हुन सक्ने भन्दै लालपुर्जा पाउनेमा आशंका व्यक्त गरे । उनले निस्सा पाउदैमा खुशी हुने अवस्था नरहेको उल्लेख गरे । ‘मन्त्री आएर दशैँमा रातो टिका र रातो लालपुर्जा दिन्छौँ भन्दा त पाईएन् । अहिले निस्सा पाएर केही खुशी छैन् । झिनो आश पनि पलाएको छैन् । एक फेर हो र ? पटक पटक त यस्तै भएसी कसरी आश गर्ने ? जबसम्म लालपुर्जा हातमा पर्दैन् तबसम्म खुशी हुने अवस्था छैन्’, उनले भने ।