दमौली ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको भानु नगरपालिका–१२ घलेछापमा खेलमैदान विस्तारका लागि रु ५० हजार सहयोग गरेका छन् । घलेछाप युवा क्लबले निर्माण गरेको खेलमैदान विस्तारका लागि मन्त्री श्रेष्ठले रु ५० हजार सहयोग गरेका हुन् ।
उक्त रकम मन्त्री श्रेष्ठका प्रमुख स्वकीयसचिव जगत् खड्काले क्लबका सचिव कुशल अधिकारीलाई हस्तान्तरण गरे । क्लबका सचिव अधिकारीले मन्त्री श्रेष्ठको सहयोगप्रति आभार व्यक्त गर्दै उक्त रकमले खेलमैदान विस्तारका लागि सहयोग पुग्ने बताए ।
मन्त्री श्रेष्ठले आफूले पाउने तलबभत्ता जिल्लाका विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आएका छन् । प्रतिनिधि सभा सदस्यमा निर्वाचन लड्दै गर्दा श्रेष्ठले आफूले तलबभत्ता नलिने घोषणा गरेका थिए । त्यसयता श्रेष्ठले तलबवापतको रकम विभिन्न विद्यालय, सङ्घसंस्था, आमा समूह, खानेपानी योजना, बिरामीलगायतलाई सहयोग गरेको स्वकीयसचिव खड्काले बताए ।