दुलेगौडा । आसन्न स्थानीय तहको निर्वाचनले राजनीतिक सरगर्मी बढाएको छ । यतिबेला देशभर स्थानीय तहका प्रमुखदेखी वडा सदस्य बन्ने उम्मेद्वारको चर्चा भईरहेको छ । दलहरु आकांक्षीको सुची बनाईरहेका छन् ।
तनहुँमा त कांग्रेसले आकांक्षीहरुको आवदेन नै मागेको छ । नेकपा एमाले, माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राप्रपा लगायतका दल पनि उम्मेद्वार छनोटको गृहकार्यमा व्यस्त छन् ।
जिल्लाका अधिकांश स्थानीय तहको प्रमुखमा हाल भईरहेका प्रमुख नै दोहोरिन चाहान्छन् । सबै जसो स्थानीय तहका प्रमुखले पार्टीमा दोहोरिनलाई आकंक्षा देखाईरहेका छन् । टिकट कस्को पोल्टामा पर्ने हो त्यो उम्मेद्वारी दर्ताको दिनमा मात्रै टुंगो लाग्नेछ ।
जिल्लाको व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले फेरी दोहोरिने इच्छा देखाएका छन् । उनले नेपाली कांग्रेस व्यास नगर कार्य समितिमा मेयर बन्ने आकंक्षा देखाउदैैँ आवदेन दिएका छन् । उनीसँगै मेयर बन्ने दौडमा कांग्रेसका १५ जना छन् । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेदेखी पत्रकार डम्मरबहादुर अधिकारी व्यासको मेयर बन्नलाई पार्टीबाट टिकट लिने दौडधुपमा छन् ।
अब मेयरमा नदोहोरिने प्रतिकृया दिदैँ हिँडेका शुक्लागण्डकीका मेयर किसान गुरुङले पनि फेरी एक पटक मेयर हुनलाई पार्टीमा आकांक्षा देखाएका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट शुक्लागण्डकीको मेयरमा बलियो दाबेदार भएको राजनीतिक वृत्तमा चर्चा छ ।
भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापाले पनि एक पटक कार्यकाल दोहो¥याउने मनस्थिती बनाएर पार्टीपंक्तिमा लविङ गरिरहेका छन् । आफु बलियो उम्मेद्वार भएकाले यसपाली टिकट पाउनुपर्ने मेयर थापाको माग छ । ‘कोरोनाले धेरै काम गर्न पाईएन् । दुई बर्षको समय कोरोनाले नै खायो । एक पटक फेरी मलाई दिनुपर्छ भन्ने छ उहाँको माग’, नेकपा एमाले भिमाद स्रोतले बतायो ।
भानु नगरपालिकाका मेयर उदयराज गौलीले भने दोहोरिने इच्छा देखाएका छैनन् । बुधबार भानु नगरपालिबाट प्रमुख र उपप्रमुखको आकंक्षीहरुको नामावली संकलनमा उनले नाम दर्ता नै गराएनन् । उनको चाहाना जिल्ला समन्वय समितिमा जाने बुझिन्छ । भानु नगरपालिका–११ को वडा सदस्य हुदै जिल्ला समन्वयमा जाने तयारी लागेको बताइन्छ ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पनि फेरी इच्छा देखाएकी छन् । उनी जिल्लाको १० स्थानीय तहमा एक मात्र महिला प्रमुख हुन् । म्याग्देमा गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेको पनि यसपाली अध्यक्ष बन्नलाई जोडबल छ ।
ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको फेरी दोहोरिने इच्छा छ । नेपाली कांग्रेसको पकड मानिएको ऋषिङमा उनी मात्रै नभएर संविधानसभा सदस्य झुलबहादुर आले सहित १३ जनाले अध्यक्षमा इच्छा जाहेर गरेका छन् ।
घिरिङ गाउँपालिका अध्यक्ष रनबहादुर रानाको पनि दोहोरिने इच्छा छ । उनले पार्टीमा दाबी पनि गरेका छन् । ‘फेरी अध्यक्ष हुने कुरा आफुमा मात्रै भर पर्दैन् । पार्टीले, जनताले अनुमोदन गर्नुप¥यो’, उनले भने । पार्टीले दिएमा आफु फेरी अध्यक्ष बन्ने उनको भनाई छ । ‘रोएर पद लिने हैन्’, उनले सुनाए । कोरोनका कारण अपेक्षित काम गर्न नपाएकाले पार्टी र जनताले एक पटक अवसर दिएमा विकास गरेर देखाउने उनको भनाई छ ।
देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापा पनि दोहोरिनलाई पार्टीमा दाबी गरिरहेका छन् । उता आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिरबहादुर थापा पनि फेरी एक पटक दोहोरिने मनस्थितीमा छन् । ‘फेरी पनि अध्यक्ष बनेर जनताको सेवा गरु भन्ने हो’, उनले संक्षिप्त प्रतिकृया दिदैँ भने ।
बन्दीपुर गाउँपालिका अध्यक्ष पुर्णसिंह थापा पनि दोहोरिनलाई चाहान्छन् । उनले आफु दोहोरिनलाई माहोल पनि बनाईरहेका छन् । तर दोहोरिने नदोहोरिने पार्टीको निर्णयमा भर पर्ने उनको प्रतिकृया छ । ‘नेतृत्वमा दोहोरिने मेरो व्यक्तिगत चाहनामा भर पर्दैन् । हामी राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने भएकाले दलको दिशानिर्देश पालना गर्नुपर्ने हुन्छ । आगामी दिनमा कसरी अगाडी बढ्ने पार्टीको निर्णयमा नै भर पर्छ’, उनले भने ।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तनहुँमा नेपाली कांग्रेस ठुलो दल बनेको थियो । पाँच स्थानीय तहमा प्रमुख उपप्रमुख दुवै पदमा जित हासिल गरेको कांग्रेसले एक एक स्थानीय तहमा प्रमुख र उपप्रमुखमा जित हासिल गरेको हो । व्यास नगरपालिका, भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा कांग्रेसले प्रमुख उपप्रमुख दुवै पदमा जितेको हो । शुक्लागण्डकी नगरपालिकामा प्रमुख र देवघाट गाउँपालिकामा उपप्रमुखमा कांग्रेसका उम्मेद्वार विजयी भए थिए । ८५ मध्ये ५० वडाको वडाध्यक्षमा पनि कांग्रेसका उम्मेद्वारको पल्लाभारि भएको थियो ।
एमालेले भिमाद र घिरिङ गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै जित्यो । देवघाटमा प्रमुख र शुक्लागण्डकीमा उपप्रमुख मात्र जित्न सफल भयो । ३० वडामा वडाध्यक्ष एमालेले जितेकोमा तीन जना वडाध्यक्षले पार्टी विभाजनसँगै नेकपा एकिकृत समाजवादी रोजेका छन् । माओवादी केन्द्रले बन्दीपुर गाउँपालिकाको प्रमुख उपप्रमुख सहित जिल्लाका पाँच वडामा वडाध्यक्ष जितेको थियो ।