दमाैली । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडी बढाएको छ । रैथाने र गैररैथाने वन्यजन्तुको संरक्षण गर्र्ने, वन्यजन्तु संरक्षणमार्फत् आमोदप्रमोद प्रदान गर्ने, वन्यजन्तुको वैज्ञानिक अध्ययन अनुसन्धान गर्ने उद्देश्यसहित स्थापना भएको प्राणी उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडी बढाएको हो ।
प्राणी उद्यानले व्यास नगरपालिका–११, १२, भानु नगरपालिका–५ र ६ का भाग समेटेको छ । प्राणी उद्यानले अधिग्रहण गर्ने जग्गा, घरटहरा, खेत, वारीको मुआब्जा निर्धारण गर्ने काम सकिएको संरक्षण अधिकृत भोजराज पन्थले जानकारी दिए । उनका अनुसार यस कार्यका लागि कूल रु ४६ करोड ५२ लाख एक हजार सात सय ३० बजेट आवश्यक पर्छ । जग्गाको मुआब्जा वितरणका लागि अर्थमन्त्रालयमा फाइल पठाइएको र बजेट स्वीकृत भएर आएपछि मुआब्जा वितरणको काम सुरु हुने पन्थले बताए।
“प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले जग्गाको मूल्याङ्कन गरेर बजेटका लागि फाइल अर्थमन्त्रालय पुगेको छ, अर्थमन्त्रालयबाट बजेट प्राप्त भएपछि मुआब्जाको काम अगाडी बढाउँछौ,” पन्थले भने।
प्राणी उद्यानभित्र परेका एक सय २६ जग्गाधनीको नौ सय ६१ रोपनी जग्गा अधिग्रहण गरिनेछ । त्यसका लागि रु ४३ करोड ८७ लाख नौ हजार चार सय ४३ मुआब्जा निर्धारण गरिएको छ । त्यस्तै उद्यानभित्र परेका घरटहराहरुका लागि रु ५८ लाख सात हजार पाँच सय ७९ र छुट भएका १६ जग्गाधनीको जग्गा अधिग्रहणका लागि रु दुई करोड छ लाख ८४ हजार सात सय सात मुआब्जा निर्धारण गरिएको छ ।
प्राणी उद्यानको सीमानमा तारबार लगाउने काम भने सम्पन्न भइसकेको छ । प्राणी उद्यानको विकासका लागि गुरुयोजना बनाइएको छ । गुरुयोजना अनुसार यहाँ दुई इलाका, चार क्षेत्र र आठ शाखा कल्पना गरिएको छ । इलाका अन्तर्गत संरक्षण इलाका र उपयोग इलाका रहनेछ । क्षेत्र अन्तर्गत प्रशासनिक, प्रदर्शनी, शान्ति र आध्यात्मिक र उद्धार र अनुसन्धान रहनेछ । शाखा अन्तर्गत ठूला शाकाहारी, शाकाहारी, पंक्षी, सर्वहारी, सरीसृप, साना स्तनधारी, मांसाहारी र भालु शाखाको कल्पना गरिएको छ ।
प्राणी उद्यान कूल चार सय २५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको छ ।
प्राणी उद्यानले २९७.४७ हेक्टर संरक्षण इलाका र १२७.५३ उपयोग इलाका निर्धारण गरेको छ । संरक्षण इलाकाभित्र घना वन क्षेत्र, भिरालो र पहुँच नभएको क्षेत्र पर्दछ भने उपयोग इलाकाभित्र कम भिरालो, पानीका स्रोत पर्दछ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा प्राणी उद्यान घोषणा गर्ने प्रावधान भएकाले चुनौति देखा परेको संरक्षण अधिकृत पन्थले बताए । प्राणी उद्यानले गुरुयोजना बमोजिम कार्य सञ्चालन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा प्राणी उद्यान स्थापना र व्यवस्थापन सम्बन्धी व्यवस्था गर्न पहल गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।