


दमाैली २२ जेठ । व्यास नगरपालिका वडा नं. १३ बेनीकोटस्थित बेनीमित्र प्राथमिक विद्यालयमा गाउँघर क्लिनिक अन्तर्गत स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको शैक्षिक वातावरणलाई स्वस्थ र सबल बनाउने उद्धेश्यका साथ सञ्चालित उक्त कार्यक्रममा विद्यालयका ८ जना शिक्षक शिक्षिकाहरूको विस्तृत स्वास्थ्य परीक्षण गरिएको थियो।
शिक्षकहरूको स्वास्थ्य जाँचका साथै कक्षा १ देखि ५ सम्मका १० जना छात्र र ११ जना छात्रा गरी जम्मा २१ जना विद्यार्थीहरूलाई जुकाको औषधि समेत खुवाइएको छ। पोखरी भञ्ज्याङ स्वास्थ्य चौकीको आयोजनामा बेनीकोट क्षेत्रका स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी स्वास्थ्य परीक्षण घरदैलो कार्यक्रम पनि सँगै सञ्चालन गरिएको थियो।
उमेर तथा शारीरिक अवस्थाका कारण स्वास्थ्य चौकीसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी स्वास्थ्यकर्मीहरू दुमाया राना र मन्जु तामाङ घरदैलोमै पुगेर रक्तचाप र मधुमेहको परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्श प्रदान गरेका थिए।
बेनीमित्र प्राथमिक विद्यालय र वरपरको टोल-बस्तीलाई केन्द्रित गरी चलाइएको यस एकीकृत स्वास्थ्य अभियानले विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय ज्येष्ठ नागरिकहरूमा ठुलो उत्साह र सकारात्मक सन्देश प्रवाह गरेको छ।
आफ्नै घरआँगन र विद्यालयमै स्वास्थ्य सेवा पाएपछि स्थानीय ७० वर्षीया मीन माया थापा लगायतका सर्वसाधारणले खुसी व्यक्त गरेका छन् भने यस कार्यक्रमले दुर्गम भेगका नागरिक र बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न थप बल पुर्याएको स्थानीय सरोकारवालाहरूले बताएका छन्।