यस्तो थियो शुक्लागण्डकीमा वडाको परिणाम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यस्तो थियो शुक्लागण्डकीमा वडाको परिणाम

    खबरपुञ्ज संवाददाता

    १८ बैशाख २०७९, सोमबार

    दुलेगौडा । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनलाई फर्केर हेर्दा शुक्लागण्डकी नगरपालिकाको वडाहरुमा सात वडा जित्दै एमाले बलियो बनेको थियो । तर यसपाली थपिएका नयाँ मतदाता निर्णायक बन्नेछन् । कसलाई विजयी गराउने नयाँ मतदाताको हातमा छ । यसपालि शुक्लागण्डकी नगरपालिकामा कुल ३८ हजार ३१५ मतदाताले मतदान गर्नेछन् । गत निर्वाचनमा २९ हजार ३६२ मतदाता कायम थिए ।

    गएको स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयरसँगै केही वडामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भएको थियो । एमाले एक्लै चुनावी मैदानमा उत्रिएको थियो । एमालेले उपमेयर सहित सात वडाध्यक्षमा विजयी भएको थियो । नेकपा एमाले विभाजनपछि एमालेबाट जितेका दुई वडाध्यक्ष नेकपा एकिकृत समाजवादी पार्टीमा लागेका छन् । त्यस्ले पनि यसपालिका एमालेलाई क्षति हुन सक्दछ । अर्कोतर्फ गठबन्धनका कारण पनि एमालेलाई चुनावी मैदानमा त्यति सहज छैन् ।

    शुक्लागण्डकी नगरपालिकामा नेपाली कांग्रेसका किसान गुरुङले नौ हजार ४२४ मत प्राप्त गरी विजयी भएका थिए । नेकपा एमालेबाट मेयरमा उम्मेद्वारी दिएका रामचन्द्र उपाध्यायले आठ हजार ७०५ मत पाए । उपमेयरमा एमालेकी सविता रसाईली आठ हजार ९८३ मत पाएर विजयी भईन् । माओवादीबाट उपमेयरमा उम्मेद्वारी दिएकी सर्वदा खनालले सात हजार ४३६ मत पाईन् । शुक्लागण्डकीमा कांग्रेस र माओवादीको गठबन्धन थियो । मेयर कांग्रेस र उपमेयर माओवादीले बाँडेका थिए ।

    कांग्रेसले मेयर सहित तीन वडाध्यक्ष र माओवादीले दुई वडाध्यक्ष जितेको थियो । यसपालि पनि गठबन्धन भर्सेस एमालेको भिडन्त हुदैँछ । मेयर र उपमेयरमा कांग्रेस, माओवादी, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धन भएको छ । दुई वडामा माओवादी र समाजवादी मिलेका छन् । एक वडामा माओवादी र समाजवादी मिलेका छन् । जनता समाजवादी पार्टीले एक जना वडा सदस्य लिएर गठबन्धनलाई सघाउदैछ ।

    गत स्थानीय तहको निर्वाचनमा वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसका रविचन्द्र पौडेल निर्वाचित भएका थिए । उनले ९४३ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी एमालेका सुर्यबहादुर गुरुङले ६६७ मत पाएका थिए । वडा सदस्यमा पनि कांग्रेसले एमालेलाई क्लिनस्विप बनाएको थियो । यसपाली पनि कांग्रेसबाट वडाध्यक्षमा रविचन्द्र पौडेलले दोहोरिदै उम्मेद्वारी दिएका छन् । पौडेलसँग नेकपा एमालेका रघुनाथ पौडेलले प्रतिष्पर्धा गर्नेछन् ।

    वडा नम्बर २ मा अघल्लिो निर्वाचनमा नेकपा एमालेका जगतबहादुर गुरुङ निर्वाचित भएका थिए । उनले ७४० मत पाउँदा उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका सुमनबहादुर राना मगरले ५६३ र नेकपा माओवादी केन्द्रका शरन सापकोटाले ३१७ मत पाए । वडा सदस्यमा पनि एमालेले नै क्लिनस्विप गरेको थियो । यसपालि पनि यो वडामा त्रिपक्षिय भिडन्त हुदैँछ । नेकपा एमालेका तीर्थराज खनाल, कांग्रेसका सुमनबहादुर राना मगर र माओवादीका शंकर पन्त वडाध्यक्षको चुनावी मैदानमा छन् ।

    शुक्लागण्डकी–३ मा नेकपा एमालेका उम्मेद्वार रामकुमार श्रेष्ठले ८५० मत ल्याएर विजयी भएका थिए । माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेद्वारी दिएका बुद्धिबहादुर भण्डारीले २८६ मत ल्याएका थिए । यसपाली एमालेका राजन रिमाल, कांग्रेसका सचिन भुजेल र माओवादीका कमल थापाको त्रिपक्षिय भिडन्त हुदैँछ ।

    वडा नम्बर ४ मा वडाध्यक्ष र वडा सदस्य सबै कांग्रेसको पोल्टामा परेको थियो । नेपाली कांग्रेसका शिवकुमार श्रेष्ठले ५४१ एमालेका स्वर्गिय पुर्णकुमार श्रेष्ठले ४४१ र माओवादीका राजु रानाले २३३ मत पाएका थिए । यसपालि कांग्रेसबाट राजकुमार वाग्ले र एमालेका विष्णुबहादुर रानाको वडाध्यक्षमा उम्मेद्वारी परेको छ । कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका सन्तोष श्रेष्ठले पनि वडाध्यक्षमा बागी उम्मेद्वारी दिएका छन् ।

    शुक्लागण्डकी–५ मा एमालेका दिर्घबहादुर थापाले ९८३ मत ल्याएर विजयी भएका थिए । उनी सहित वडाको टिम नै एमालेले जितेको हो । माओवादीका सोमबहादुर आले मगरले ६५८ मत पाएका थिए । यसपालि एमालेबाट दिर्घबहादुर थापा फेरी दोहोरिएका छन् वडाध्यक्षका लागि । नेपाली कांग्रेसबाट हरिराज अधिकारी, माओवादीबाट मित्रबन्धु पौडेल र समाजवादीबाट जिवन थापाले उम्मेद्वारी दिएका छन् ।

    वडा नम्बर ६ मा नेकपा एमालेका कृष्णबहादुर पौडेलले ९२७ मत प्राप्त गरी विजयी भएका थिए । नेपाली कांग्रेसका रेशमलाल पौडेलले ४५६ मत ल्याएर पराजित भएका थिए । वडा सदस्यमा पनि यो वडामा एमालले क्लिनस्विप पारेको हो । यसपालि एमालेबाट वडा सदस्यको अनुभव सम्हालेका बृद्धिबहादुर थापा र कांग्रेसबाट रवि केसीले प्रतिष्पर्धा गर्नेछन् ।

    शुक्लागण्डकी–७ मा एमालेका रामबहादुर थापा क्षेत्रीले ७५२ मत ल्याएर विजयी भएकोमा हाल एकिकृत समाजवादीमा लागेका छन् । उनका निटतम प्रतिष्पर्धी खड्कसिंह थापाले ६०३ र माओवादी केन्द्रका गोपिकृष्ण तिवारीले १७९ मत पाएका थिए । यसपाली एमालेबाट प्रेम श्रेष्ठ र कांग्रेसबाट खड्कसिंह थापाको प्रतिष्पर्धा हुने छ । यहाँ माओवादी, कांग्रेस र समाजवादी मिलेका छन् ।

    वडा नम्बर ८ मा नेपाली कांग्रेसको कृष्णप्रसाद रेग्मीले एक हजार १३३ मत ल्याउदैँ विजयी भए । वडा सदस्य पनि सबै कांग्रेसले जितेको थियो । एमालेबाट वडाध्यक्षका उम्मेद्वार बनेका रामबहादुर महतले ६७३ मत पाएका थिए । यसपाली कांग्रेसबाट चन्द्रकला भट्टराई र एमालेका नारारयणसिंह थापाबिच भिडन्त हुदैछ ।

    वडा नम्बर ९ मा एमालेका लोकनारायाण श्रेष्ठले ४८५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका रामप्रसाद पाठकले ३६७ मत पाए । स्वतन्त्रबाट उम्मेद्वारी दिएका धनबहादुर पुलामीले ३३१ मत ल्याएका थिए । वडा सदस्यमा एमालेका सबै निर्वाचित भएका थिए । यसपाली एमालेबाट धनबहादुर पुलामी, कांग्रेसका मुक्ति सापकोटा र एकिकृत समाजवादी पार्टीका डिलबहादुर थापा चुनावी मैदानमा छन् । एकिकृत समाजवादीलाई यो वडामा माओवादी केन्द्रले समर्थन गरेको छ ।

    वडा नम्बर १० मा अघिल्लो पटक माओवादी केन्द्रका रामचन्द्र भण्डारी ६९१ मत ल्याएर विजयी भएका हुन् । एमालेका धनबहादुर थापाले ६३६ र कांग्रेसका यामबहादुर ठकुरीले ६३७ मत पाएका थिए । यो वडामा कांग्रेसका दुई सहित माओवादी र एमालेका एक÷एक जना वडा सदस्यमा विजयी भएका थिए । यसपालि यहाँ एमालेबाट केशव थापा, माओवादीबाट राजेन्द्र भट्टराई क्षेत्री र कांग्रेसबाट खड्कविक्रम खाँण ठकुरीले प्रतिष्पर्धा गर्नेछन् । एमालेका थापा र माओवादीका क्षेत्री यस अगाडी नै वडा सदस्य भएर अनुभव बटुलेका छन् । यहाँ माओवादीलाई एकिकृत समाजवादीले सघाउने सहमती भएको छ ।

    वडा नम्बर ११ मा दलबहादुर थापा सहित सेट नै एमालेले बाजी मारेको थियो । एमालेका दलबहादुर थापाले ८६८ मत पाएका थिए । उनी सहित निर्वाचित जनप्रतिनिधि नै एकिकृत समाजवादीमा लागेको छन् । थापाका प्रतिष्पर्धी कांग्रेसका भिमबहादुर थापा मगरले ५१२ र माओवादी केन्द्रका नारायण सिग्देलले ५४४ मत पाएका थिए । यसपालि यो वडामा नेकपा एमालेबाट शालिराम भट्टराई र गठबन्धन दलका तर्फबाट थमनबहादुर आलेले वडाध्यक्षामा उम्मेद्वारी दिएका छन् । आले एकिकृत समाजवादीका हुन् । उनी यसअगाडीको निर्वाचनमा वडा सदस्यमा विजयी भएका थिए । आलेलाई माओवादी र कांग्रेसको पनि समर्थन छ ।

    शुक्लागण्डकी–१२ मा नेकपा माओवादी केन्द्रका मनराज गुरुङले ६९४ मत पाएर विजयी भएका थिए । उनका प्रतिष्पर्धी एमालेका हर्कबहादुर गुरुङले ६८० मत पाए । यो वडामा कांग्रेस र माओवादी मिलेर भिडेका थिए । तैपनि वडा सदस्यमा तीन जना एमालेका विजयी भएका थिए । कांग्रेसका एक जना वडा सदस्य विजयी भएका थिए । यस पटक वडामा त्रिपक्षिय भिडन्त हुदैछ । माओवादी केन्द्रबाट फेरी मनराज गुरुङले दोहोरिने दाउमा उम्मेद्वारी दिएका थिए । एमालेबाट इन्द्र गुरुङ र कांग्रेसका क्याप्टेन गजबहादुर गुरुङको उम्मेद्वारी परेको छ । अघिल्लो निर्वाचनमा वडाध्यक्ष पदमा सबैभन्दा कम यही वडामा मतान्तर देखिन्छ ।