प्रतिष्ठाको लडाइमा छन् राजकुमार र विष्णुबहादुर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रतिष्ठाको लडाइमा छन् राजकुमार र विष्णुबहादुर

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०७९, बिहीबार

    दुलेगौडा । शुक्लागण्डकी नगरपालिका–४ मा रहेको दुलेगौँडा बजार शुक्लागण्डकीको राजधानि हो । तसर्थ पनि यहाँको स्थानीय निर्वाचनलाई निकै महत्वका साथ हेरिन्छ । शुक्लागण्डकीकै सबैभन्दा सानो र विकसित वडाको रुपमा लिइने दुलेगौँडा पृथ्वी राजमार्गको गल्छिनादेखी गाछेपानीसम्म र ढोरफिर्दीतर्फ पुल्चोकसम्म फैलिएको छ । वडाको कुल क्षेत्रफल १.९६ वर्गकिलोमिटर मात्र छ । दुलेगौँडा शुक्लागण्डकीको राजधानी मात्रै नभएर तनहुँकै एक प्रमुख व्यापारिक स्थल पनि हो ।

    २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वडा नम्बर ४ मा वडाध्यक्ष र वडा सदस्य सबै कांग्रेसको पोल्टामा परेको थियो । नेपाली कांग्रेसका शिवकुमार श्रेष्ठले ५४१ एमालेका स्वर्गिय पुर्णकुमार श्रेष्ठले ४४१ र माओवादीका राजु रानाले २३३ मत पाएका थिए । यसपालि कांग्रेसबाट राजकुमार वाग्ले र एमालेका विष्णुबहादुर रानाको वडाध्यक्षमा उम्मेद्वारी परेको छ ।

    कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका सन्तोष श्रेष्ठले पनि वडाध्यक्षमा बागी उम्मेद्वारी दिएका छन् । श्रेष्ठको उम्मेद्वारीले कांग्रेस निराश बनाएको छ । श्रेष्ठले अझै प्रचारप्रसार सुरु गरेका छैनन् । त्यसैले पनि पार्टीका नेताहरु उनलाई जसै ब्याक गराउन कोशिष गरिरहेका छन् ।

    श्रेष्ठको उम्मेद्वारीले कांग्रेस कमजोर भएको बेला चुनावी पासा पल्टाउने दाउमा छ एमाले यतिबेला । कांग्रेस एमाले दुवै दलका उम्मेद्वार यतिबेला आफ्नो घोषणा पत्र लिएर घरदैलो गरिरहेका छन् । युवाहरुमाझ लोकप्रिय मानिने युवा उम्मेद्वार श्रेष्ठ पनि आफुले जित्नेमा विश्वस्त नै देखिन्छन् । यस्तै, यो वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीका युवराज श्रेष्ठले पनि वडाध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

    दुलेगौँडा बजार इकाइका पुर्व सभापति समेत रहेका ५१ बर्षीय वाग्लेसँग दुलेगौँडालाई बजारलाई व्यवस्थित बनाउने योजना छ । शिक्षा, स्वास्थ्यसँगै व्यवस्थित बसपार्क, वातवरणिय सरसफाई, अव्यवस्थित बसोबासीलाई व्यवस्थित गराउने, प्रविधिमैत्री शहर बनाउने, खानेपानीलाई सहज बनाउने योजनालाई उनले पुरा गर्ने उनले घोषणपत्रमा उल्लेख गरेका छन् । अहिले दुलेगौँडा बजारमा देखिएको मुख्य समस्या बाढी नियन्त्रणलाई पनि प्राथमिकता दिएको उनले बताए । ‘३ नम्बर वडाबाट आएको बाढीलाई कसरी हुन्छ व्यवस्थापन गर्नेछौँ’, उनले भने । घरेलु उद्योगलाई प्रोत्साहन, व्यवसायीलाई तालिम सञ्चालन गर्ने उनले जानकारी दिए ।

    योजना पुरा गर्ने आधारबारे उनी भन्छन्, ‘नगरबाट छुट्याउने बजेटमा प्राथमिकताको आधारमा हाम्रो वडामा अलिकति कम भईरहेको छ । यस्लाई कसरी हुन्छ नगरबाट बजेट व्यवस्थापन गर्दै काम गर्नेछौँ । माथिल्लो तहका सरकारसँग पनि सहकार्य हुनेछ ।’ बागी उम्मेद्वारी दिएका श्रेष्ठसँग छलफल भईरहेको उनले जानकारी दिए । ‘यहाँ नेपाली कांग्रेस ठुलो पार्टी हो । पहिल्यैदेखी जित्दै आएको ठाउँ पनि हो । जनतासँग नजिक छु र धेरै संघसंस्थामा रहेर काम गरेको अनुभवले पनि सबैले मत दिनुहुनेछ’, उनको विश्वास छ । शिक्षा, स्वास्थ्य लगायतका विभिन्न संघसंस्थामा आबद्ध आले दुलेगौँडा बजारका पुराना फर्निचर व्यवसायी हुन् ।

    यसपाली दुलेगौँडामा एमालको जित सुनिश्चित भएको बताउँछन् वडाध्यक्षका उम्मेद्वार विष्णुबहादुर राना । ‘वडालाई भ्रष्टचारमुक्त वडा घोषणा गर्नेछौँ’ आफ्नो पहिलो योजना सुनाउँदै उनले भने । उनको टिमसँग दुलेगौँडा बजारलाई शहरमा रुपान्तरण गर्दै स्मार्ट सिटिको अवधारणमा काम गर्ने योजना रहेको उनले बताए । ‘मुख्य गरेर राजधानीको वडामा सार्वजनिक शौचालय छैन् । सरसफाई छैन् । पैदलयात्रुले सहजै हिँड्न पाउदैनन् । शहर धुलाम्मे छ । हाइवे झाडीले छोपिरहेको अवस्था छ । जनताले उठाएको पैसाले सोलार लाइट जोडियो, तैपनि बल्दैन् । हामीले सुरुमा यिनै काम गर्छौँ’, उनले भने ।

    उनले वडाले सक्ने काम तत्काल गर्ने र नसक्ने कामका लागि नगरपालिका, प्रदेश र संघीय सरकारसँग सहकार्य गर्ने बताए । ३५ बुदे प्रतिबद्धता जाहेर गरेका उनले बजार क्षेत्रको फोहोर व्यवस्थापन गर्दै भिमसेन चोक र वन्केवा चोकमा नालाको सही व्यवस्थापन, नदी कटान रोक्ने लगायतका योजना उनीसँगै । पार्टीमा जनलहर चलिरहेको र अन्तरद्धन्द कम भएको कारण यसपालीको चुनाव जित्ने उनको ठोकुवा छ । लायन्स क्लब अफ शुक्लागण्डकी टाउनका अध्यक्ष समेत रहेका मगर विभिन्न संघसंस्थामा आबद्ध छन् । उनी युवा व्यवसायी पनि हुन् ।