जनताले अनुभूति गर्ने विकास योजनाअघि बढाउनुपर्छ : वरिष्ठ नेता पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जनताले अनुभूति गर्ने विकास योजनाअघि बढाउनुपर्छ : वरिष्ठ नेता पौडेल

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०७९, शनिबार

    दमौली । नेपाली कांग्र्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले अनुभूति गर्ने खालका विकास योजना अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

    व्यास नगरपालिकाले शनिबार आयोजना गरेको ‘कार्यक्रम प्राथमिकीकरण अभ्यास कार्यशाला’ शुभारम्भ गर्दै उनले नगरवासीले अनुभूति गर्नेगरी मानव कल्याण र प्रकृतिको संरक्षणमा केन्द्रित रही विकासका कार्यक्रम अघि बढाउनुपर्ने बताए । जनताको माग र आवश्यकताका आधारमा जनप्रतिनिधिले योजना तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याउँदै वरिष्ठ नेता पौडेलले जनताको सेवक भएर काम गर्न आग्रह गरे ।

    व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई नीति तथा कार्यक्रम बनाउँदा प्राथमिकता दिनुपर्ने विषयमा जानकारी गराउन उक्त कार्यशाला आयोजना गरिएको बताए ।

    गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले योजना तर्जुमा गर्ने आधारबारे जानकारी गराए । उनले स्थानीय तहको आवधिक योजनाले निर्दिष्ट गरेका विषय, दिगो विकास लक्ष्यमा तय गरिएका प्राथमिकता, नेपालको संविधान २०७२ को अनुसूची ८ मा व्यवस्था भएका एकल अधिकारका क्षेत्र, मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र स्थानीय तहका अधिकारका विषयमा प्रष्ट पारेका थिए ।

    नगरपालिकाका वरिष्ठ इञ्जिनीयर डा राजु पौडेलले आव २०७८÷७९ का योजनाहरुको प्रगति विवरण सार्वजनिक गरेका थिए । डा शेषरमण न्यौपानेले वार्षिक बजेट तथा कार्यक्रम तर्जुमाका चरणहरु र स्थानीय तहका जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारबारे प्रष्ट पारेका थिए ।

    कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देललगायत १४ वटै वडाका जनप्रतिनिधिको सहभागिता थियो ।