शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारे सार्वजनिक सुनुवाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारे सार्वजनिक सुनुवाई

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०७९, मंगलवार

    भानु । इन्सेक तनहँुको आयोजनामा मंगलबार भानु नगरपालिकामा स्थानीय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारेमा सार्वजानिक सुनुवाई कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रममा बोल्दै वडा नम्बर ९ का अध्यक्ष मिनबहादुर गुरुङले संविधानले नै मौलिक हकको रुपमा समावेश गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई नीति तथा कार्यक्रममा प्राथाकताका साथ राखेर कार्यान्वयन गर्नु पर्ने बताए ।

    उनले नगरपालिकाले आगामी आर्थिक वर्षकोलागि नीति तथा कार्यक्रम तयार गरिरहेको हुँदा त्यसक्रममा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयलाई प्राथमकिताका साथ राखी कार्यान्वयन गर्न सुझाव दिने बताए । यी विषय मौलिक हक मात्र नभएर नागरिकका आधारभुत अधिकार पनि भएको हुँदा भानु नगरपालिकाले पनि यसलाई उच्च प्राथमिकतामा राख्ने उनको भनाई थियो ।

    आफुहरु भर्खरै मात्र स्थानीय तहमा जिम्मेबारी लिएर आएको भन्दै उनले यस अघि शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा के कस्ता कामहरु भएको छ भन्ने बारेमा बुझेर थप गर्न सकिने विषयलाई आफ्नो तर्फबाट उठान गर्ने बताए ।

    नगरपालिकाले कार्यान्वयन गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित कार्यक्रम तथा योजनाहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्दै नगरपालिकाका बरिष्ठ अधिकृत शुनिल पाण्डेले मानवअधिकार समुहको पटक पटकको ध्यानाकर्षण पछि आफुले शिक्षा, स्वास्थ्य, खाद्य र आवासमा उल्लेख्य कार्यक्रमहरु समावेश गरेको बताए ।

    जेष्ठ नागरिकलाई घरै दैलोमै स्वास्थ्य सेवा उपलब्धता, प्राकृतिक प्रकोप पीडितलाई राहत, बहुक्षेत्रीय पोषण कार्यक्रम सन्चालन, स्वास्थ्य र सरसफाईलाई उच्च प्राथमिकता, आधारभुत खानेपानीको उपलब्धता, व्यक्तिगत तथा सामुहिक सरसफाईको विशेष नीति, नमुना बाख्रा पालन, भैसी पालन तथा सिताके च्याउ खेतीलाई जोड, बिउ बिजन तथा अनुदान वितरण प्रक्रियालाई आधुनीकिरण तथा उत्पादनलाई निर्वाहमुखी भन्दा बजारमुखी बनाउने नीतिहरु सन्चालन गरिएको पाण्डेले बताए । पाण्डेले खरको छानो मुक्त नगरपालिका घोषणाको तयारीमा रहेको जानकारी दिए ।

    सो कार्यक्रममा नेपाल बिउ बैंकका केन्द्रीय अध्यक्ष एवं नेकपा एमाले गन्डकी प्रदेश कमिटिका सदस्य सिताराम बजगाई, नेपाली काँग्रेस वडा नम्बर ९ का वडा सभापती गणेशमान श्रेष्ठ, निवर्तमान वडा अध्यक्ष निलन सन्जिवा श्रेष्ठ लगायतले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउँदा शिक्षा, स्वास्थ्य, खाद्यका विषयलाई प्राथमिकतामा राखी योजना बनाउनु पर्ने बताए ।

    शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धि विषय कुनै एक संस्थाले दवाव दिनु पर्ने विषय भन्दा पनि नगरपालिका आफैले यसलाई प्राथमिकतामा राखेर काार्यान्वयन गर्नु पर्ने उनीहरुको भनाई थियो ।

    मानवअधिकार समुहका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगरपालिकाका कार्यपालिका सदस्य धनबहादुर विक, वडा सदस्य श्यामकृष्ण पाण्डे, उमा श्रेष्ठ, जैविक विविधता संरक्षण समितिका अध्यक्ष विकलराज अधिकारी, कर्मदा माविका प्रअ हरिकान्त अधिकारी, कालिका माविका पुर्व प्रअ सरोज श्रेष्ठ, अगुवा कृषक बासुराज कडरिया लगायतले सुझाव दिएका थिए । सो कार्यक्रममा इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित कार्यक्रम र विषय बस्तुहरुको बारेमा सहजिकरण गरेका थिए ।